बौद्ध ग्रामीणकी सदस्य आशालाई उत्कृष्ट लघु उद्यमी पुरस्कार

सुर्खेत: बाख्रापालक कृषक आशा बुढामगर पुरस्कृत भएकी छिन् । स्वाबलम्बन विकास केन्द्रले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा उनलाई उत्कृष्ट लघु उद्यमी पुरस्कार प्रदान गरेको हो ।
सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ पानीखोलामा बाख्रापालन व्यवसाय गर्दै आएकी आशा बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य हुन् । बाख्रा पालन व्यवसायमार्फत आफू आत्मनिर्भर हुनुका साथै अरुका लागि पनि प्रेरणा बनेको भन्दै केन्द्रले नगद ५० हजार रूपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ ।
उनी विगत नौ वर्षदेखि बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आवद्ध छिन् । सहकारीकै सहयोगमा उनले बाख्रापालन व्यवसाय सुरुवात गरेकी हुन् । संस्थाको १० हजार रूपैयाँ लगानीमा सुरुवात भएको व्यवसायबाट अहिले उनले वार्षिक रूपमा १० लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेकी छिन् ।
बाख्रापालन व्यवसायबाट भएको आम्दानी नै उनको जीविकोपार्जनको मुख्य स्रोत हो । अहिले उनको खोरमा जमुनापारी र बोयर जातका एक सय ५० भन्दा बढी खसी, बाख्रा र बोका छन् ।
यसअघि बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले पनि आफ्नो १९औँ र २३औँ वार्षिक साधारणसभामा उनलाई उत्कृष्ठ ऋणी सदस्यको रूपमा सम्मान गरेको थियो ।

दिपेश दाहाल ।