ठेक्का प्रक्रियामै विलम्ब

कर्णाली प्रदेशमा पर्याप्त जलस्रोत छ । भेरी र कर्णालीजस्ता ठूला नदी छन् । यसबाहेक अन्य निरन्तर बहने नदी र खोलाहरू पनि छन् । जसबाट जलविद्युत उत्पादनको सम्भावना पनि प्रचुर छ । तर आजसम्म पनि पर्याप्त विद्युत उत्पादन हुन सकेको छैन । विद्युत उत्पादनका लागि आयोजना निर्माणका क्रममा भने छन् । तर समयमै आयोजना अघि नबढ्ने समस्याका कारण विद्युत उत्पादनमा उपलब्धि न्यून देखिन्छ । यसैक्रममा लामो समयको रस्साकस्सीपछि डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का सम्झौता भएको छ । १०६ मेघावाट क्षमताको अर्धजलासययुक्त जलविद्युत आयोजना निर्माणको जिम्मा जेसीई÷एएनके जेभीले पाएको छ । उक्त निर्माण कम्पनीको आर्थिक तथा प्राविधिक प्रस्ताव पारित भएसँगै ठेक्का सम्झौता गरिएको हो ।

कम्पनीको ठेक्का प्रक्रियामा सहभागीमध्ये मामा प्राविधिक रूपमा सिनो हाइड्रो र जेसीई÷एएनके जेभीको प्राविधिक प्रस्ताव पास भएको थियो । दुईमध्ये सबैभन्दा कम आर्थिक प्रस्ताव कबोल गर्ने जेसीई÷एएनके जेभीले ठेक्का पाएको हो । सिनो हाइड्रोले १३ अर्ब ३३ करोड रूपैयाँ र जेसीईरएएनके जेभीले १२ अर्ब १८ करोड रूपैयाँको कबोल गरेका थिए । नियमानुसार सबैभन्दा कम कबोल गर्ने कम्पनीले ठेक्का पाएको हो । ठेक्का प्रक्रियामै विवाद सिर्जना भएको थियो । पहिलो पटक २०८१ जेठ २० गते कम्पनीले सिभिल र हाइड्रोमेकानिकल संरचनाका लागि ठेक्का निकालेको थियो । जसमा सातवटा कम्पनीले आवेदन दिएका थिए । प्राविधिक प्रस्तावमा कुनै कम्पनी छनोट नभएपछि अन्तिममा ठेक्का रद्ध भयो । कम्पनीले पुनः दोस्रोपटक ठेक्का आह्वान ग¥यो । जसमा चार कम्पनीले प्रस्ताव पेश गरे । प्राविधिक मूल्यांकनमा चारमध्ये दुई कम्पनी मात्रै उपयुक्त देखिए । प्राविधिक रूपमा उपयुक्त ठहरिएका दुई कम्पनीको नियमानुसार आर्थिक प्रस्ताव हेर्दा जेसीई÷एएनकेले बाजी मारेको हो । अबभने ठेक्का सम्झौता भइ निर्माणको काम अघि बढ्ने अपेक्षा गरिएको छ ।

अर्धजलाशययुक्त आयोजना निर्माणका लागि २३ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ । निर्माण थालेको पाँच वर्षमा आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । कम्पनीले १२० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ । कुनै पनि आयोजना निर्माणको क्रममा सुरुवाती चरणदेखि नै विवाद र विलम्ब हुनु हाम्रो पूर्वाधार विकासमा देखिएको साझा समस्या हो । यस्ता समस्यालाई समयमै समाधान गरेर आयोजना अघि बढाउने हो भने कर्णालीले जलविद्युत उत्पादनमार्फत समग्र देशलाई ठूलो आर्थिक लाभ दिन सक्दछ, जसमा जगदुल्ला पनि एक हुनेछ ।

प्रकाशित मितिः   २९ श्रावण २०८२, बिहीबार १२:५४