अफिमसहित ३ युवा पक्राउ
प्रहरीले प्रतिबन्धित लागूऔषध अफिमसहित तीनजना युवालाई बाँकेको राप्ती सोनारी १ खासकुस्माबाट नियन्त्रणमा लिन सफल भएको छ ।
दाङको घोराहीबाट नेपालगन्जतिर रा २ प ९९५४ नम्बरको पल्सर मोटरसाइकलमा आउँदै गरेकाहरुलाई २ किलो ५ सय ५१ ग्राम अफिमसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा रुकुम भुमे गाउँपालिका ३ घर बताउने हाल घोराही उपमहानगरपालिका ६ बस्ने वर्ष २९ को आयन रोका, सोही ठाउँका ३६ वर्षीय भागेश्वर रोका र २६ वर्षका रुपेश पुन रहेका छन् ।
अञ्चल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । खासकुसुममा प्रहरी चेकिङमा पक्राउ परेको उनीहरुलाई अञ्चल प्रहरी कार्यालय भेरीले शनिबार पत्रकार सम्मेलन गरी सार्वजजिक गरेको छ ।
अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी निरिक्षक विश्वराज सिंह थापाले उनीहरुका साथबाट मोटरसाइकल, तीनवटा प्याकेटमा रहेका अफिम २ किलो ५ सय ५१ ग्राम, तौल गर्ने मेसिन, ४ वटा मोबाइल, ९ हजार ५ रुपैया, भिसाकार्ड एक, तीन पर्श र सामान राख्ने झोला बरामद भएको जानकारी दिए ।
उनले लागू औषध कारोबारीहरु सक्रिय भएको जानकारी आएलगत्तै आफ्नै नेतृत्वमा रहेको टिमले अफिमसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए । बरामद भएको सो अफिम रुकुमबाट ल्याएको बताइएको छ ।
पक्राउ परेकाहरुले दाङको घोराही बजारमा एक व्यक्तिले झोला नखोली नेपालगन्ज पुर्याए जनही ५ हजार रुपैयाँ दिने भनेकाले आफूहरु झोला बोकेर आएको प्रहरीलाई बयान दिएका छन् ।
प्रकाशित मितिः ६ जेष्ठ २०७४, शनिबार १९:१५
साझा बिसौनी ।