असुरक्षित बालिका

नेपाली समाजमा संरचनागत रूपमै महिलामाथि विभेद छ । विभिन्न विभेदमा पर्दै आएका महिलाहरू घरेलु हिंसादेखि बलात्कार र हत्याजस्ता जघन्य अपराधबाट समेत पीडित हुने गरेका छन् । अझ कुरूप र क्रुर अवस्था के छ भने स–साना बालिकाहरूसमेत असुरक्षित छन् । बालिकाहरूमाथि भइरहेका बर्बरता एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । हालै मात्रै दैलेखमा एक बालिका बर्बरतापूर्ण बलात्कारको सिकार भएकी छिन् । १३ वर्षीया बालिका सामुहिक बलात्कारमा परेकी हुन् ।

पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी १३ वर्षीया नाबालिकालाई दुई जना स्थानीय युवाले बलात्कार गरेका छन् । बलात्कार आफैमा जघन्य अपराध हो । त्यसमाथि नाबालिकामाथिको बलात्कारको घटना अझ बर्बरतापूर्ण छ । घटना साउन २२ गते बिहीवारको हो । प्रहरीले दिएको जानकारी अनुसार बिहीवार बेलुका गाउँलेहरू भेला भएर तीज गीतमा नाँचिरहेका थिए । स्थानीय १३ वर्षीया बालिका पनि साथीहरूसँग नाँच हेर्न पुगेकी थिइन् । राति निकै ढिलोसम्म नाँच चलेको थियो । निन्द्रा लागेपछि अन्य चारजना साथीहरूसँगै राति करिब १ बजेतिर उनी पनि सुत्न भनेर घरतिर लागिन् । बाटोमा दुईजना युवकले उनीहरूलाई जिस्काउँदै हातपात गर्न खोजे । उनीहरू थिए, सोही नगरपालिकाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी । गोविन्द र खगेन्द्र जवरजस्ती आइलागेपछि बालिकासहित उनका साथीहरू भागे । अन्यले अँध्यारोमा दौडिँदै भागेर ज्यान जोगाउन सफल भए, तर १३ वर्षीय ती बालिका पछि परिन् । प्रहरीका अनुसार दुईजना युवाले लखेटी–लखेटी पछाडिबाट ढुङ्गाले हाने । उनीहरूले हानेको ढुङ्गा बालिकाको दाहिने पाखुरामा लाग्यो । ढुँगोको चोटले उनी दौडिन सकिनन् । त्यसपछि उनी लखेट्दै आएका गोविन्द र खगेन्द्रको नियन्त्रणमा परिन् । चोटले घाइते भएकी एक्ली बालिकालाई दुईजना युवक मिलेर जवरजस्ती एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । उनीहरूले ती बालिकालाई पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय दैलेखले तत्कालै दुवै आरोपितलाई पक्राउ गरेको छ ।

कर्णालीका बालिकाहरू लगातार बलात्कार र जबरजस्तीकरणीजस्ता जघन्य अपराधको सिकार बनिरहेका छन् । अन्य उमेर समूहका महिलाभन्दा बालिका तथा किशोरीहरू बढी जोखिममा देखिएका छन् । प्रहरी तथ्यांकअनुसार बालिकामाथि हुने बलात्कारका घटना बर्सेनि बढ्दोक्रममा छन् । बलात्कारका बढीजसो घटनामा चिनेजानेका, नजिकका आफन्त र समाजले भरोसा गरेका व्यक्तिहरूकै संलग्नता देखिने गरेको छ । नाबालिकाहरूमाथिको यस्तो बर्बरताले आजको समाज र चेतनालाई नै गिज्याइरहेको छ । त्यसैले बालिकाहरूको सुरक्षा गर्न र हरेक नागरिकबाट यस्तो आपराधिक मानसिकता अन्त्य गर्न उचित शिक्षा अपरिहार्य देखिएको छ ।

प्रकाशित मितिः   २७ श्रावण २०८२, मंगलवार १३:२३