‘कार्यसम्पादन नै नेतृत्वको पहिलो आधार’
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारी अनुसारको कार्यसम्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सोमवार सुर्खेतमा पेसागत महासंघ नेपाल कर्णाली प्रदेश समिति र सुर्खेत जिल्ला समितिले आयोजना गरेको संगठन सुदृढीकरण तथा सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जनताले पदको आधारमा नभइ सेवाभाव, नैतिकता र कार्यसम्पादनको आधारमा नेतृत्वको मूल्यांकन गर्ने बताए । ‘सबै क्षेत्रमा सेवाभाव हराउँदै गएको छ, यो राम्रो कुरा होइन’ कँडेलले भने, ‘यसलाई सुधार गर्दै जनतामा सकारात्मक सन्देश दिनु अहिलेको आवश्यकता हो ।’
कार्यक्रममा अन्य सहभागीहरूले निर्वाचित जनप्रतिनिधि र पेसागत महासंघबीच सुमधुर सम्बन्ध कायम गर्न आवश्यक भएको धारणा राखेका थिए । कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल, नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, वीरेन्द्रनगर नगरपालिका प्रमुख एवम् नेकपा (एमाले) का केन्द्रीय सदस्य मोहनमाया ढकाल, पेसागत महासंघ नेपालका उपाध्यक्ष भोलानाथ पोखरेल, कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका संगठनका पदाधिकारी र राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


साझा बिसौनी ।