जोखिममा अटोको यात्रा
सुर्खेत: पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा आइतवार बिहान अटो रिक्सा दुर्घटना भयो । दुर्घटनमा सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच महिने शिशुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार चौकुने गाउँपालिका वडा नं. ८ स्थित मदन भण्डारी राजमार्गअन्तर्गत मायातालबाट गुटुतर्फ जाँदै गरेको से १ ह २७०० नम्बरको अटो रिक्सा अनियन्त्रित भइ सडकबाट करिब ४० मिटर तल खसेको थियो ।
दुर्घटनामा अटो चालकसहित सवार सबै जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते हुनेहरूमा चालक, चौकुने गाउँपालिका–५ भुयातालका २९ वर्षीय नवराज आले रहेका छन् । यसैगरी चौकुने–५ मायातालकी ३५ वर्षीया मिना विक र उनका पाँच महिनाका छोरा नविश विक पनि घाइते भएका छन् । टाउकोमा गहिरो चोट लागेका कारण शिशु नविशको अवस्था अत्यन्त गम्भीर रहेको प्रहरीले जनाएको छ । आमा मिनाको भने शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम छ । दुर्घटनामा चौकुने–८ कोलघारकी १० वर्षीया धरमिसरा विक र ३२ वर्षीया जस्दा विक पनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार शिशुको अवस्था चिन्ताजनक छ ।
पछिल्लो केही वर्षयता सुर्खेतमा अटोरिक्साको प्रयोग बढेको छ । यसले यात्रुहरूलाई सुविधा दिएको छ । छोटो दूरीको यात्राका लागि रिक्सा सहज माध्यम बनेको छ । धेरैलाई रोजगारीको अवसर पनि सिर्जना गरेको छ । तर अटोरिक्साले सुविधासँगै जोखिम पनि बढाएको छ । अटो रिक्साको मनपरीले क्षति निम्त्याइरहे पनि नियमन गर्नुपर्ने निकायको ध्यान भने पुगेको छैन ।
अटोमा यात्रा गर्दा जोखिम पनि उस्तै छ । अधिकांश चालकहरूसँग सवारी लाइसेन्स छैन । लाइसेन्सविनाका चालकले तीव्र गतिमा हाँक्दा दुर्घटनासमेत हुने गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित अटो तथा ई–रिक्सालाई व्यवस्थित सञ्चालन गर्न निर्देशिका जारी गरेको छ । अटो रिक्सा अव्यवस्थित रूपमा सञ्चालन भइरहेको गुनासो बढेपछि नगरपालिकाले वि.सं. २०७५ सालमै निर्देशिका बनाइ सोहीअनुसार सञ्चालन गर्न भनेको थियो । उक्त निर्देशिकामा उपत्यकाका सबै क्षेत्रमा रूट र भाडादरसमेत तोकिएको छ । निर्देशिकाअनुसार वीरेन्द्रनगर उपत्यकाका जुनसुकै ठाउँमा पुग्न पनि ६० रूपैयाँभन्दा बढी भाडा लिन नपाइने भनिएको छ । भाडादरमा एकरूपता छैन । एउटै दुरीमा पनि चालक अनुसार फरक–फरक भाडा लिने गरिएको छ । छोटो वा लामो दुरीको भाडामा एकरूपता नहुँदा सेवाग्राहीहरू ठगिएका छन् ।
भाडा दर कायम, पार्किङ्ग र रूट व्यवस्थापन नहुँदा अटो रिक्साहरू जथाभावी रूपमा चलिरहेका छन् । जथाभावी रूपमा चल्ने ई–रिक्साका कारण ट्राफिक व्यवस्थापनमा चुनौती बढेको छ । स्थानीय निकायहरू रिक्सा नियमन र व्यवस्थापनमा जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता देखिएको छ । वीरेन्द्रनगर नगरपालिकाले स्थानीय प्रशासन र ट्राफिक प्रहरीसँगको समन्वयमा रिक्साको मनपरी नियन्त्रण गर्न सक्दछ । सुरुवातदेखि नै व्यवस्थित गरिनुपर्ने रिक्साहरूलाई यत्तिकै छोड्दा समस्या बढेको हो ।
वीरेन्द्रनगर नगरपालिकाले नगरपालिकमा हालसम्म करिब एक हजार दुई सय मात्रै अटो तथा ई–रिक्सा दर्ता भएका जनाएको छ । तर, यहाँ तीन हजारभन्दा बढी गुड्ने गरेको बताइन्छ । नगरभित्र सञ्चालन हुने अटोको संख्यामा हालसम्म दर्ता हुनुपर्ने तीन हजार हाराहारीमा हो । हालसम्म एक हजार दुई सय मात्रै दर्ता भएका छन् । आवश्यकभन्दा धेरै अटो वीरेन्द्रनगरमा भित्रिएपछि दुर्घटनासँगै अन्य जोखिमहरू हुने गरेका छन् । नगरपालिकाले अन्य दर्ता नभएका अटो वीरेन्द्रनगरमै सञ्चालन हुने भए दर्ता प्रक्रियामा आएर मात्रै चलाउने पाउने जनाएको छ । साथै, दर्ता नगरेर अटो सञ्चालन गर्दा दर्ता प्रक्रियामा आएका अटोलाई अफ्ठ्यारोका साथै सडक सुरक्षा असुरक्षित भएको नगर प्रमुख मोहनमाया ढकालको भनाइ छ ।


साझा बिसौनी ।