व्यक्ति, फोटो र मूर्ति पूजा कहिलेसम्म ?

अचम्म लाग्छ केही प्रश्न सोध्ने हो भने २१ औं शताब्दीमा छौं भनेर उर्लेर, कुर्लेर खोक्ने र लेख्ने धेरै भेटिन्छन् तर व्यक्ति पूजाको, मूर्ति र फोटो पूजाको अगाध माया, पे्रम र सद्भाव बोकेरै हिँडेका मानव जमात अझै पनि देख्न पाइरहेका छौं । धन्य छौं हामी, यदि कसैले हिन्दुवादीहरूका अगाडी हिन्दु धर्मका कथित देवताका बारेमा टिप्पणी गर्नु सिधै ज्यान जाने खेल खेल्नु सरह हुन्छ । यस्तो सोच समाज र विधिमा हामी रमाउन बाध्य पारिएको हो कि हामी खुशीले यसो भयौं खुट्टयाउन गाह्रो भएको छ । म भन्छु हाम्रो परनिर्भर सोच, आफूलाई आफैले विश्वास नगर्ने चलन र कोही अमुर्त व्यक्ति र चलनको निसन्देह र अनुत्पादक जयजयगान नै समस्या हो ।
इशाई विश्वासीहरूले इशुलाई पुज्नु, बुद्धमार्गीले बुद्धलाई पुज्नु, मुस्लिमले मोहम्मदलाई पुज्नु अथवा यस्ता कैयन व्यक्तिलाई अमुर्त शक्तिको स्रोत मानी पछाडी लाग्नु अहिलेको समयमा पनि सम्भव कसरी भएको छ ? अझै पनि निरुत्तरित प्रश्न हो मेरा लागि । अझै पनि साम्प्रदायिकतालाई हरेक व्यक्ति र समाजको गर्भमा राखेर जन्मदिनलाई हामीले तयार पारिराखेका छौं । कोही विरुद्धमा बोल्ने, लेख्ने र विचार राख्ने बित्तिकै त्यो असुर रूपीगर्भमा रहेको साम्प्रदायिकतालाई आवश्यकपर्ना साथै जन्माइदिएका छौं कैंयौं पटक भने अझै कैंयन पटक जन्मिने कुरा पनि निसन्देह अनुमान गर्न सकिन्छ । हामीलाई सुन्न र देख्न मन नपरेको विषयलाई साम्प्रदायिक भड्कावको रूप दिएर त्यसमार्फत् अनेकौं निर्दोश मानवको बली चढाउन हामीलाई आजसम्म लाग लागेको छैन । सकभर तिनै मृतकको नाम बेचेर अझै थप केही समय व्यापार चलाउन पाइयोस् भने जसरी हाम्रो गतिविधि धेरैपटक देखिएको पनि छ ।
विवेक त कसैले प्रयोग गर्नै नहुने । प्रश्नत सोध्नै नहुने । शंका त गर्नै नहुने । विरोधको त कुरै छोडौं । हामी अझै यिनै तस्वीर, मूर्ति र रचित शब्द भण्डारका आडमा आफ्नो जीवनपार लगाउने सोचिरहेका छौं । कठै हाम्रो विवेक, कठै हाम्रो बुद्धि जो आफूलाई विश्वास गर्दैन भने अरुको त झन् के भर ? यहाँ विरोध गरिएको पटक्कै होइन बरु हामीलाई लागेका महान व्यक्ति र विचारको बारेमा छलफल र बहस हुनु जरुरी छ साथै समसामयिकीकरण पनि उत्तिकै महŒवपूर्ण छ । हरेक विचार र आस्थाको समसामयिकीकरण गर्ने र समय सुहाउँदो वैकल्पिक विचार र आस्था जन्माउने दिशामा मानिसलाई उन्मुख गराउनु आवश्यक छ । यसो गर्नका लागि ती विचार, आस्था र विश्वासका धरोहरलाई उचित सम्मान र संरक्षण प्रदान गर्न सकिन्छ तर तिनैको नामको गीत गाएर मूर्ति र फोटो ढोगेर कसैले रचेका शब्द गाउँदा कसैको पार लाग्ने नभइ विवेक र सिर्जनाको वारीमा डढेलो लगाउने काम मात्र हो ।
मलाई लाग्छ वाणिज्य शास्त्रले सबैलाई निलिसक्यो । गाईको भन्दा डेरीको दुध राम्रो भन्ने विज्ञापनलाई पत्याउने हामी, प्राकृतिकभन्दा बनावटी राम्रो भनी गरिएका विज्ञापनको प्रभावमा पर्ने हामी आज धर्म, जाति, संस्कार, राष्ट्रियता, राजनीतिक विचारलाई व्यापारीकरण गरेका छौं र त्यसैमा रमाएर कति दिन चल्छ र ? लाग्छ अव त यहाँ चलनमा रहेका, खोलिएका र विज्ञापन गरिएका धर्म, संस्कार, राजनीतिक विचार तथा यस्ता अनेकन उपायलाई एउटा व्यवसायको रूपमा प्रयोग गरी मन्दिर, मस्जिद, चर्च, गुम्बा, पार्टीका कार्यालयहरू यिनका थोक तथा फुटकर बिक्री केन्द्र हुन् भने यिनका नेतृत्व गर्नेहरू थोक तथा फुटकर बिक्रेता हुन् ।
कर्म गर्न सिकाउने भन्दा विज्ञापन गरेर विकाउनेमा हामी ज्यादा प्रभावित छौं । अलिकति पनि नैतिक र मानवीय मूल्य पनि समेट्न नसकेका विज्ञापनको पछाडी लागेर हामीले त्यसैमा हाम्रो विश्वास मजबुत बनाएर राखेका छौं । आज असजिलोमा सघाउने र सिकाउने भन्दा पनि त्यस वापतको नतिजा अथवा फाइदा के लिने भनी पहिले नै नियोजित गरिएका कर्मकाण्डीहरूका अनन्य भक्त हुनु हाम्रो भूल भएको छ । यो हाम्रो बुद्धिमत्ता हुँदै होइन । हाम्रो यही भक्ति र भोलापनको कुरालाई धर्म, जाति, राजनीति वा अन्य कुनै नाममा फाइदाका लागि प्रयोग गरिएको छ । तपाईं हामीमा भएको पारिवारिक, साम्प्रदायिक र राजनीतिक असन्तुष्टिलाई समातेर उनीहरूको नियोजित उपयोगको शिकार बनाइ आफू चर्चित र लोकप्रिय बन्ने मात्र होइन, आफूले आफैलाई भगवानको रूप घोषणा गर्ने उद्योगमा लागेका प्रयोजनवादीले बनाएको प्रयोगशालामा हामी रसायनको रूपमा प्रयोग हुने कहिलेसम्म ? उनीहरूकै नाम, फोटो र छापको भारी हातमा, गलामा, जिउमा, अनुहारमा, बोलीमा, पूजा कोठामा अझ भनौं सपनामा पनि बोकेर कहिलेसम्म हाम्रो जीवनको यात्रा सम्भव छ ? विचार अहिले नगरे कहिले गर्ने ?
खासमा हरेक व्यक्तिसँग शिव, मोहम्मद, बुद्ध, कृष्ण, लक्ष्मी, सरस्वती, ईशु, नानक, माक्र्स, लेनिन, माओ बन्ने हैसियत हुन्छ । ती अबोध मानिसहरूको अन्तरनिहित क्षमता पहिचान गरी उनीहरू स्वयम्को अस्तित्वलाई आफ्नै मेहेनतले माथी उठाउन प्रेरित गर्नुपर्ने मूल आदर्शलाई खल्तीमा लुकाएर अमूर्त व्यक्तिका फोटो, मूर्ति र कल्पनाका मरुभूमिमा अलमलिन लगाउने हरेक व्यक्ति, भाषण, बोली र लेखहरूमा अन्धविश्वासी बन्नु हाम्रो व्यक्तिगत र यो जगतको हितमाकदापि छैन । हामीआफुसंग रहेको असिमितक्षमताको विवेकपूर्ण सदुपयोग गरी हामी नै असल कर्मका हिस्सेदार बन्ने हो । यो नै हरेक जनको व्यक्तिगत र तत्कालीन सामाजिकहितको महŒवपूर्ण आयाम हो ।
आउनुहोस् अब हामीले गाएका भजनको कर्ममा रूपान्तरण हामीले गर्ने कि नगर्ने, हामीले मन्दिरमा लाख बत्ती बाले पनि हाम्रो आफ्नै मन, घर, परिवार र समुदायमा एउटा बत्ती बाल्न लोभ गर्ने कि नगर्ने, मूर्ति र फोटोलाई शाष्टाङ्ग दण्डवत गरे पनि आफ्ना अग्रज आमा, बुबा, सासु ससुरालाई सम्मान गर्ने कि नगर्ने, मन्दिरको पूजारी, मस्जिदको गुरु मौलानाको, गुम्बाको लामा, चर्चको पादरी, पार्टीको नेता, फिल्मको नायक÷नायिकाले भनेको धेरै सुनेर बयान गरे हौंला तर आफ्नै छोरा, नाती, भाइ, भतिजा र छरछिमेकीले काम लाग्ने कुरा गरेको सुन्ने र स्वीकार्ने हिम्मत गर्ने गर्ने कि नगर्ने, उनीहरूले गरेको राम्रो कामको लागि हौसला दिने कि नदिने, कहिलेकाहिं शिक्षकभन्दा विद्यार्थी जान्ने र गुरुभन्दा शिष्य जान्ने बुझ्ने हुन्छ, पार्टीको अध्यक्ष भन्दा सामान्य कार्यकर्ता जान्ने बुझ्ने र विवेकशील हुन्छ भन्ने कुरा स्वीकार गर्ने कि नगर्ने ? एक पटक शान्त भएर छातीमा हात राखेर इमान्दारी र इमानका साथ विचार गरौं । यी सबै प्रश्न र यस्ता अरु कैयन प्रश्नको उत्तरबाट हामी आफ्नो जीवन सोचे जस्तो बनाउन सक्छौं । बस हामीले इमानका साथ, आफ्नै विवेक प्रयोग गरी आवश्यक सल्लाह र सहयोग लिइ निरन्तर काम गर्न छोड्न र भुल्न हुँदैन । मेहेनत पूर्ण साधना कर्ममा नै असीमित शक्ति छ त्यसलाई प्राप्त गर्ने हाम्रै लगन, मेहेनत, साधना र कर्म हो ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७४, शुक्रबार १९:०५