यस्तो छ, वीरेन्द्रनगरका मेयरको राजनीतिक यात्रा

प्रदेश नम्बर ६ मा सर्वाधिक चासोका साथ हेरिएको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार देवकुमार सुवेदीले बाजी मारेका छन् । कांग्रेसका युवा नेता सुवेदीको राजनीतिक जीवन कस्तो थियो त ? साझा बिसौनीले उनको अहिलेसम्मको राजनीतिक यात्रा केलाउने प्रयास गरेको छ ।

२०३३ साल मंसिर २७ गते वीरेन्द्रनगर–३ मा जन्मिएका सुवेदीको राजनीतिक यात्रा विद्यार्थीजीवनदेखि नै सुरु भएको हो । १४ बर्षको उमेरमै २०४७ सालमा वीरेन्द्रनगरमा रहेको जन माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाई कमिटी सचिव भए । त्यसपछि उनको राजनीतिक यात्रा अगाडि बढेको छ । त्यो यात्रा अहिले वीरेन्द्रनगर नगरपालिकाको प्रमुख(मेयर)सम्म पुगेको छ ।

विद्यार्थी जीवनदेखि थालेको यात्रा क्याम्पसे जीवनमा पनि जारी रह्यो । २०५२ सालमा सुर्खेत क्याम्पस शिक्षाको स्ववियु उपसभापतिमा निर्वाचित भए । २०५६ मा नेविसंघ सुर्खेतको सचिव हुदैं २०५७ सालमा पुनः शिक्षा क्याम्पसको स्ववियु सभापति र नेविसंघ सुर्खेतको अध्यक्ष बने । जिल्लासम्म आइपुगेको सुवेदीको राजनीतिक यात्रा अव केन्द्र तहसम्म पुग्न थाल्यो । २०५९ सालमा उनी नेविसंघको केन्द्रीय सदस्य बने । २०६२ सालमा उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरे । सो वर्ष सुवेदी नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य बने र २०६८ देखि अहिले सम्म कांग्रेसको वीरेन्द्रनगर नगर सभापतिको जिम्मेवारी सम्हालिरहेका छन् ।

वीएड र एमएम गरेका सुवेदी पटक पटक हिरासतमा बसेका छन्, यातना पाएका छन् । २०६२÷०६३ को आन्दोलन लगायतमा पटक पटक गरी ३५ दिन उनी हिरासतमा बसेका छन् । गिरफ्तारी र यातना पनि पटक पटक पाएका छन् ।
सालिन व्यक्तित्व, सरल स्वभाव र सबैसँग समन्व्य गर्न सक्ने नेताको रुपमा उनले आफ्नो छवि बनाएका छन् । कांग्रेसभित्र सुवेदीलाई खोट लगाउनेहरु भेटिन मुस्किल पर्छ नै अन्य पार्टीका नेताहरु पनि उनको व्यवहार र स्वभावको खुलेर प्रशंसा गर्दछन् । सँगसँगै विद्यार्थी राजनीति गरेका नेकपा एमाले सुर्खेतका युवा नेता टेकेन्द्रकुमार बस्नेत पनि सुवेदीको सरल स्वभाव र सबैसँग समन्वय गर्ने व्यवहार राम्रो रहेको बताउँछन् । उनले सुवेदीलाई बधाइृ ज्ञापन गर्दै उनले सुवेदीले अन्य पार्टीहरुसँग पनि समन्वय गरेर काम गर्न सक्ने बताए ।

निर्वाचनअघि नै यसपटकको स्थानीय तहको निर्वाचनमा आफू निर्वाचित भए समृद्ध वीरेन्द्रनगर बनाउने प्रतिवद्धता जनाएका उनले अब कस्तो काम गर्छन् त्यो भने आगामी दिनमा देखिने नै छ ।

प्रकाशित मितिः   ६ जेष्ठ २०७४, शनिबार १८:०७