रणनीतिक योजना
कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजना कार्यान्वयन गर्दैछ । पर्यटकीय क्षेत्रको पहिचान, प्रवद्र्धन र प्रचार गर्ने रणनीति बनाइएको मन्त्रालयले जनाएको छ । त्यसका लागि ‘गन्तव्य कर्णाली एप’ निर्माण गर्नेदेखि ‘पर्यटक गाइड’ पुस्तक प्रकाशनसम्मका योजना मन्त्रालयले बनाएको छ ।पर्यटन विकासको प्रचुर सम्भावना भएर पनि कर्णालीमा पर्याप्त पर्यटक आउन सकेका छैनन् । भएका पर्यटकीय स्थलहरूको उचित र व्यवस्थित प्रचार–प्रसार पनि हुन सकेको छैन । त्यसैले प्रदेश सरकारले पर्यटन प्रवद्र्धन योजनालाई प्राथमिकतामा राखेको छ ।
हचुवाको भरमा काम गर्दा आर्थिक लाभ लिन नसकिएको निष्कर्षसहित मन्त्रालयले डिजिटल माध्यमलाई पनि उपयोग गर्ने रणनीति तय गरेको छ । त्यसका लागि विभिन्न माध्यम उपयोग गर्ने तयारी सरकोको छ । मोबाइल एपमार्फत् पर्यटकीय क्षेत्रहरूको बारेमा जानकारी गराउन लागिएको छ । एपमार्फत पर्यटकलाई पर्यटकीय क्षेत्र र सेवा लगाएका विषयमा जानकारी गराइनेछ । चालु आर्थिक वर्षमा‘गन्तव्य कर्णाली एप’ निर्माण गर्न लागिएको हो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि बढाएको छ । एप निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले दश करोड बजेट विनियोजन गरेको छ । पर्यटकहरूलाई प्रदेशमा सहज रूपमा आवागमन र घुमफिरका लागि एप निर्माण तथा सञ्चालन गर्न लागिएको हो । यो एप सञ्चालन भए मोवाइलबाटै कर्णालीका घुम्न लायक क्षेत्रको बारेमा जानकारी लिन सकिनेछ । अति महत्वपूर्ण धार्मिक स्थलहरूमा शूल्क तोकेरै लिइने प्रवेश शूल्कसमेत लगाइनेछ । यसैगरी प्रदेश सरकारले ‘गन्तव्य कर्णाली एप’सँगसँगै ‘पर्यटक गाइड बुक’ पनि तयार गर्न लागेको छ । कर्णालीमा एकीकृत रूपमा पर्यटकीय गन्तव्यको सूचि नहुँदा बाहिरी पर्यटक अलमलमा पर्ने तथा सास्ती पाउने गरेका छन् । सरकारले उक्त समस्यालाई मध्यनजर गर्दै पर्यटक गाइड बुक निर्माण गर्न लागेको हो ।
सरकारले यो वर्ष पर्यटन विकासका कार्यक्रममा जोड दिएको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा ४३ करोड बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा समेत प्रदेश सरकारले पर्यटन पूर्वाधारका कार्यक्रममा जोड दिएको थियो । पर्यटकीय क्षेत्रको पहिचान गरेर पूर्वाधार निर्माण तथा प्रचार–प्रसार गर्ने योजनामा प्रदेश सरकार लागि परेको छ । यो वर्ष डिजिटल प्रविधिमार्फत योजना कार्यान्वयन गर्न लागिएको जनाइएको छ । पर्यटन प्रवद्र्धन गर्न सके कर्णालीको आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण सघाउ पुग्ने अपेक्षा गरिएको छ । त्यसका लागि रणनीतिरूपमा योजना र कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
प्रकाशित मितिः १८ श्रावण २०८२, आईतवार ०५:०३
सम्पादकीय ।