फोहोरबाट मोहर

नेपालमा रोजगारीका लागि पर्याप्त अवसर छैनन् । अवसर खोज्दै नेपालीहरू विदेशिने क्रम बढ्दो छ । रोजगारी नपाएको भन्दै कर्णालीबाट पनि हजारौँ युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । कर्णालीका युवाहरूको पहिलो गन्तव्य भारत हो । परिवारको सामान्य गुजरा चलाउन समेत उनीहरू रोजगारीका लागि भारत जाने गरेका हुन् । एकातिर अवसरको कमी छ, अर्कोतिर सीपसमेत नहुँदा गाउँ–ठाउँमै आयआर्जनका लागि अवसर नदेख्ने/नभेट्ने अवस्था बनेको छ । खास गरेर पर्याप्त पढाइ र सीप नभएका मजदुरहरूका लागि रोजगारी पाउनु चुनौती छ । यति हुँदा हुँदै पनि कैयन्ले आफ्नै वरपर अवसर खोजेर आत्मनिर्भर बनेका छन् । फोहोरमा समेत मोहर खोजिरहेका छन् । कवाड बेचेर करोडपति बनेका छन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ का महावीर विक यस्तै एक उदाहरण हुन् । उनलाई यतिबेला भ्याइ–नभ्याइ छ । पहिला मिस्त्री काम गरेर घरधन्दा चलाउने गरेका उनी उक्त काम छोडेर फोहोरबाट मोहर बनाउन होमिएका छन् । वीरेन्द्रनगर बजारमा फालिएको प्लाष्टिक बटुलेर बेच्न थालेपछि दिनकै आठ सयभन्दा बढी उनले आम्दानी गर्ने गरेका छन् । पहिले मिस्त्री काम गर्दा काम नै नपाइनेसमस्या थियो, अहिले भने उनलाई भ्याइ–नभ्याइ छ । महावीरलाई गरिबीका कारण अधिकांश दिन एकछाक भोकभोकै बस्नुपर्ने बाध्यता थियो । फोहरमा मोहर खोज्न थालेपछि त्यो समस्या हटेको छ । उनले वीरेन्द्रनगरमा कवाड सामान संकलन गरेर बेच्ने गरेका छन् । यही सामान बेचेर पाँच जनाको परिवारको खर्च टार्दै आएका छन् । उनले फोहर प्लाष्टिक र डब्बाबाट दैनिक आठ सयदेखि एक हजारसम्म आम्दानी गर्दै आएका छन् । सोही वडाकी लक्ष्मी नेपाली समेत दुईवर्षदेखि फोहोरको डंगुरमा मोहर कमाउन व्यस्त छिन् । उनले आफ्नो घर खर्च चलाउन र छोराछोरीलाई पढाउन यो आम्दानीले सहज भएको छ । महिनाभरी ज्यालादारी गरेर १० हजारदेखि १५ हजार रूपैयाँ कमाउन मुश्किल पर्ने अवस्थाबाट अहिले फोहोरमा कवाडी समान खोजेर बेच्दा राम्रो आम्दानी हुने गरेको उनको अनुभव ।

लक्ष्मी र महावीर जस्ता व्यक्तिहरू वीरेन्द्रनगरको मुख्य–मुख्य चोकहरूमा पानीको खुला बोटल, रेडबुलको खाली डिबा, फलामका टुक्राहरू बोरामा संकलन गरेर नजिकै रहेको विभिन्न कवाडी केन्द्रहरूमा बेच्न पुग्छन् । दिनको पाँच सय रूपैयाँदेखि एक हजारसम्म कमाउँछन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा यत्रतत्र प्रयोग भएका प्लाष्टीकका सामान फालिएका हुन्छन् । वीरेन्द्रनगरको मुख्य चोक, होटल नजिकमा यत्रतत्र फालेका कवाडीका सामानहरू उनीहरूले टिपिरहेका हुन्छन् । यद्यपि उनीहरूको स्वास्थ्य र सुरक्षातर्फ भने पर्याप्त ध्यान पुगेको देखिदैन । त्यसैले यसरी फोहोरलाई आफ्नो आम्दानीको स्रोत बनाइरहेका मजदुरहरूको सामाजिक सुरक्षामा राज्यले पनि ध्यान दिन जरुरी देखिन्छ ।

प्रकाशित मितिः   १६ श्रावण २०८२, शुक्रबार १२:२१