सडकको अड्चन

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे खण्ड निर्माणमा देखिएको अड्चन हटेको छ । रुख कटानको अनुमति नपाउँदा लामो समयदेखि सडक स्तरोन्नतिको काम अघि बढ्न सकेको थिएन । अब भने निर्माणले गति लिने भएको छ । रुख कटानको अनुमति पाएसँगै आयोजनाको काम अघि बढ्ने भएको हो । सडक क्षेत्रमा पर्ने बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा १०.३९ हेक्टर राष्ट्रिय वन क्षेत्रका विभिन्न प्रजातिका आठ सय ६४ वटा रुख काट्न सरकारले स्वीकृति दिएको छ । यो स्वीकृति कार्यान्वयनका लागि वन तथा भू–संरक्षण विभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय र कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबिच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतासँगै बड्डीचौर–खम्बागाडे खण्डको अड्चन सकिएको हो । अबको केही दिनभित्रै रुख कटानको प्रक्रिया थालिने छ । पश्चिम सुर्खेतमै पर्ने अन्य दुई खण्डमा धमाधम काम भइरहे पनि जग्गा प्राप्ति र रुख कटान अनुमतिमा देखिएको अड्चनका कारण काम रोकिएको थियो । आयोजनामा सबैभन्दा जटिल मानिएको जग्गा प्राप्ति र रुख कटानजस्ता व्यवधान हटेकाले अब निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने जनाइएको छ । हालसम्म उक्त सडक खण्डको २५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । वित्तीय प्रगति १४ प्रतिशत हासिल भएको छ । साढे १२ किलोमिटरमा सडक खण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । सम्झौताअनुसार २०७९ देखि काम सुरु भएको थियो । २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने थियो । तर अनेक व्यवधानका कारण सम्पन्न हुन सकेन । हालसम्म कामको प्रगति निकै न्यून छ । निर्माण कम्पनीले रुख कटान र जग्गा प्राप्तिको विषयलाई ढिलाइको प्रमुख कारण देखाउँदै आएको थियो । प्रदेश सरकारले आयोजनाको म्याद २०८२ असार १२ सम्म थप गरे पनि काम अघि बढ्न नसकेपछि पुनः २०८३ असारसम्मका लागि समयसीमा बढाइएको छ ।

यो राजमार्ग केवल सुर्खेतको पश्चिमी क्षेत्रलाई सदरमुकामसँग जोड्ने माध्यममात्र होइन, यो सुदूरपश्चिमका कैलाली र डोटीलाई कर्णालीको राजधानी वीरेन्द्रनगरसँग जोड्ने सबैभन्दा छोटो र रणनीतिक मार्ग पनि हो । वीरेन्द्रनगरदेखि बड्डीचौरसम्म कर्णाली राजमार्ग प्रयोग हुन्छ भने त्यसपछि पश्चिम सुर्खेतको मुहार फेर्ने यात्रा यही राजमार्गले तय गर्छ । त्यसैले पनि रुख कटानको अनुमतिसँगै सडक आयोजना निर्माणमा उत्साह देखिएको छ ।

प्रकाशित मितिः   ११ श्रावण २०८२, आईतवार ०५:०३