हिंसा न्यूनीकरण

महिलाहरू घरेलु हिंसाको सिकार हुने गरेका घटना बग्रेल्ती भेटिन्छन् । पछिल्लो समय त घरभित्रै महिलाहरूको हत्यासम्म हुने गरेका जघन्य घटना हुन थालेका छन् । यसले महिलाका लागि घर नै सबैभन्दा असुरक्षित क्षेत्र बनाएको छ । एउटा अध्ययनले प्रत्येक दशमध्ये ६ महिला घरमा असुरक्षित छन् र तिनीहरू घरेलु हिंसा र मानसिक प्रताडना आफ्नै घरमा सहन बाध्य छन् भन्ने देखाएको छ । महिला त्यसैसँग असुरक्षित छन्, जसलाई सबभन्दा बढी माया र विश्वास गर्छिन् । सबभन्दा बढी माया र विश्वास गर्ने व्यक्ति उनको पति छ वा परिवारका अन्य सदस्य । महिलाहरू आफ्नै श्रीमानबाट समेत हत्यासम्मको सिकार भइरहेका छन् । पुरुषले गरेका साधारण कुटपिट, अत्याचार र गालीगलौजलाई दैनिक रूपमा लिने गरेको र प्रतिकार गर्दा मृत्युको सिकार भइरहेको पाइएको छ ।

कर्णाली प्रदेशमा लैङ्गिक तथा घरेलु हिंसाको ग्राफ बढ्दो क्रममा रहेको देखिन्छ । विगत चार वर्षको तथ्यांक विश्लेषण गर्दा लैङ्गिक तथा घरेलु हिंसाका घटनाको ग्राफ निरन्तर बढेको पाइएको हो । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार बर्सेनि रूपमा घरेलु हिंसाका घटनामा वृद्धि भइरहेको देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा आठ सय ७५ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा आठ सय ८३, आर्थिक वर्ष २०७९/०८० मा आठ सय ५८, आर्थिक वर्ष २०८०/०८१ मा आठ सय ८० र चालु आर्थिक वर्षको हालसम्म आठ सय ७६ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । घरेलु हिंसा बढीरहे पनि यसको न्यूनीकरणका लागि सरकोकारवालाहरूको ध्यान जान सकेको छैन । यसलाई सामान्य रूपमा लिँदा आत्महत्याको दर भयावह बन्दै गएको छ । आत्महत्याको दर बढ्दै गए पनि सरकारसँग यसको रोकथामका लागि ठोस योजना छैन । पछिल्लो समय महिलामाथि हुने हिंसा झन् झन् बढ्दै गएको प्रहरीको तथ्यांक छ ।

घरेलु हिंसा, गरिबी, नैरास्यता तथा विभिन्न मानसिक समस्याका कारण महिलाहरूले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ । कानुनी अज्ञानताका कारण महिला घरेलु हिंसा सहन बाध्य छन् । यो विकराल अवस्थाको अन्त्य गर्न सबै सरोकारवालाले ध्यान दिनुपर्ने देखिन्छ । कानुनी सचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ । हिंसामा परेका व्यक्तिहरूलाई सहने वा आत्महत्या गर्नेतर्फ निरुस्ताहित गरेर कानुनी उपचार खोज्नका लागि प्रोत्साहित गर्नु जरुरी छ । जसले गर्दा आगामी दिनमा यस्ता घटनामा न्यूनीकरण हुन सक्नेछ । हिंसारहित समाज निर्माण गर्नु सबैको दायित्व हो । जसका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिकको पनि उत्तिमै महत्वपूर्ण भूमिका रहन्छ ।

प्रकाशित मितिः   ३० असार २०८२, सोमबार १०:०१