लगानीमैत्री योजना बनाउँदै प्रदेश सरकार

सुर्खेत: कर्णाली प्रदेश सरकारले लगानीमैत्री योजना निर्माण गर्ने भएको छ । लगानीकर्तालाई प्रदेशमा लगानीमा सम्भाव्य क्षेत्रबारे जानकारी प्रदान गरी लगानीमैत्री वातावरण निर्माणका लागि ‘कर्णाली प्रदेश लगानी पोर्टल विकास’ गर्न लागेको छ ।

प्रदेशमा लगानीयोग्य परियोजना विकास तथा अन्य आवश्यक पूर्वतयारीसहित आगामी आर्थिक वर्षमा लगानी सम्मेलनको योजना बनाएको हो । लगानी सम्मेलन गर्ने विषय भने पहिलोपटक होइन । यसअघि पनि निर्धारित समयमा लगानी सम्मेलन हुन नसक्दा पटक–पटक मिति सर्ने गरेको थियो । आगामी आर्थिक वर्षमा लगानीका क्षेत्र परिचान गरेर लगानी सम्मेलन गर्ने योजनामा प्रदेश सरकार रहेको छ । लगानीका क्षेत्र पहिचान गरेर लगानी सम्मेलनको तयारी गरिने प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताए । उनका अनुसार यसअघि गर्ने भनिएको लगानी सम्मेलनको तयारी पूरा नहुँदा समस्या भएको थियो । अहिले भने अध्ययन गरेर मात्र सम्मेलन गरिने उनको भनाइ छ ।

सरकारले ‘आयोजना बंैक’ निर्माण गरेर मात्र लगानी सम्मेलन गर्ने भएको छ । बेला बेला भइरहने सरकार फेरबदल र योजना आयोगले पूर्णता नपाउँदा लगानी सम्मेलन अन्योलमा पर्दै आएको थियो । आगामी आर्थिक वर्षमा भने लगानी सम्मेलनका लागि केही आधार निर्माण गरेर मात्र सम्मेलनको मिति तय गर्ने सरकारले जनाएको छ ।

आयोजना बंैक निर्माण गर्ने र त्यसै अनुरूप लगानी सम्मेलन गर्नेगरी तयारी भइरहेको जनाइएको छ । अहिले आयोजना बंैकको कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको प्रदेश योजना आयोगले जनाएको छ । लगानी सम्मेलनबारे यसअघि भएका काम र आयोजनाको सुनिश्चित गरेर मात्र सम्मेलन गर्ने तयारी भएको प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले बताए । यसअघिको योजना आयोगले समेत केही तयारी गरेको थियो । सोहीबमोजिम काम अघि बढाउन लागिएको हो । तयारी पूरा गरेर मात्र सम्मेलनको मिति तय गर्नेगरी योजना आयोग लागिरहेको उनको भनाइ छ । यसअघि भएका अभ्यास हेर्दा तयारी नहुँदा काम हुन सकेको थिएन । सम्मेलनका केही आधार तय गरेर मात्र काम अघि बढाउन लागिएको उपाध्यक्ष योगीले जानकारी दिए ।

यसअघि प्रदेश सरकारले विभिन्न समयमा लगाानी सम्मेलन गर्नेगरी तयारी थालेको थियो तर सरकारको योजना कार्यान्वयन भएको थिएन । अन्तिम पटक पूर्वमुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले गत वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने योजना बनाएको थियो । गतवैशाख १९ र २० गते प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्मेलन गर्ने तयारी थालिएको थियो । सम्मेलनको तयारीका लागि मुख्यमन्त्रीको नेतृत्वमा निर्देशक समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको थियो । आर्थिक, सामाजिक र सुशासन समितिसमेत गठन गरेर काम अघि बढाइएको थियो ।

प्रदेश योजना आयोगले वैशाख १९ र २० गते लगानी सम्मेलन गर्नेगरी प्रदेश सरकारलाई कार्ययोजना प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृतसमेत गरेको थियो । २०८० माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १९ र २० गते कर्णाली प्रदेश लगानी तथा विकास सम्मेलन गर्ने निर्णय गरेको थियो । दुई पटक लगानी सम्मेलनको योजना विफल बनेको थियो । त्यतिबेला धेरै कामसमेत अघि बढिसकेको अवस्थामा सरकार फेरबदलले गर्दा सम्मेलन अन्योल बनेको थियो । यस पटक भने सरकारले लहडमा भन्दा पनि तयारी पूरा गरेर मात्र लगानी सम्मेलन गर्ने तयारी गरेको छ । हचुवाको भरमा सम्मेलनको मिति तय गर्दा दुविधा उत्पन्न भएको भन्दै तयारी पूरा गरेर मात्र मिति तय गर्न लागिएको हो ।

कर्णालीमा लगानीमैत्री वातावरण छैन । जसले गर्दा ठूला आयोजना सञ्चालनमा आउन सकेका छैनन् । धेरै आयोजना अध्ययनकै चरणमा छन् । आयोजना निर्माणकै चरणमा प्रवेश गर्न सकेका छैन । प्रदेशको आफ्नै आन्तरिक आम्दानी पनि न्यून छ । संघीयता कार्यान्वयनमा आएको सात वर्ष बित्तिसक्दा पनि सरकारले पूर्वाधार निर्माणमा अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रले प्रस्ताव भने नगरेका भने होइनन् तर सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसक्दा आफैले निर्माण गरेका योजनामा समेत सरकार विफल बन्दै गएको छ । आगामी आर्थिक वर्षमा भने आयोजना बंैक निर्माण गरेर लगानी सम्मेलन गर्ने योजना बनाएको छ । यो योजना प्रदेश सरकारको नयाँ भने होइन । सरकारले हरेक नीति तथा कार्यक्रममा राख्ने गरेको छ । अहिलेसम्म सफल भने हुनसकेको छैन ।

प्रकाशित मितिः   ३० असार २०८२, सोमबार १०:००