सडक सञ्जालमा सिमकोट

चुवाखोला कर्णाली नदीमा बेलिब्रिज निर्माण भएपछि हुम्ला सदरमुकाम सिमकोट औपचारिकरूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । उक्त पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार उद्घाटन गरेका छन् । सडकले जोडिएपनि पुल निर्माण नहुँदा कर्णाली करिडोरले पूर्णता पाउन सकेको थिएन । अबदेखि पाँच सय १० किलोमिटर लामो यो राजमार्गले पूर्णता पाएको छ । बेलिब्रिज निर्माण भएसँगै यो सडकले हुम्ला सदरमुकामलाई मात्रै जोडेको छैन, कर्णाली प्रदेशलाई भारत र चीनसँग पनि जोडेको छ । सडक भारतसँग जोडिने बाँकेको जमुनाह नाकादेखि चीन जोड्ने हुम्लाको हिल्सा नाकासम्म पुग्छ ।

त्यसो त सिमकोटले राजमार्गसँग जोडिन निकै लामो समय कुर्नुप¥यो । कर्णाली करिडोर निर्माण थालनी भएको २६ वर्षको प्रतिक्षापछि मात्रै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । चुवाखोलामा पक्की पुल निर्माण हुँदैछ । तर निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल निर्माण हुन सकेको छैन । दश करोड लागतमा भएकोे सम्झौताको म्याद पटक–पटक थप्दा पनि पुल निर्माणले गति लिन नसकेपछि बेलिब्रिज निर्माणको योजना अघि सारिएको हो । बेलिब्रिज निर्माणको जिम्मा भने नेपाली सेनालाई दिइइो । सेनाले ४० दिनभित्रैमा निर्माण सम्पन्न गरेको हो । पुल निर्माणमा झण्डै चार करोड रूपैयाँ खर्च भएको छ । त्रिदेशीय सडक सञ्जाल विस्तारले कर्णालीको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ । सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्छ । त्यसैले वैदेशिक व्यापारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कर्णाली करिडोरले पूर्णता पाउन पनि निकै समय लाग्यो । २०५४ सालमा हुम्लामा खाद्यान्न अभावको स्थायी समाधानका लागि तत्कालीन जिल्ला विकास समितिले चीनसँग सडक जोड्ने योजना बनाएको थियो । २०५७ सालमा जिविसको आन्तरिक स्रोतको प्रयोग गरी सिमकोट–हिल्सा सडक खन्न सुरु गरियो । त्यसपछि कालीकोटदेखि बाजुरा–हुम्ला खण्डमा विभिन्न समयमा करोडौं बजेट खर्च गरियो । ठेकेदारमार्फत निर्माण थालिएको उक्त सडकमा करौडौं बजेट खर्च भयो । तर, सडक निर्माणको गति भने सुस्त भयो । निर्माण व्यवसायीको ढिलासुस्तीकै कारण २०७१ चैत ५ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले कर्णाली करिडोरको निर्माणको जिम्मा नेपाली सेनालाई दियो । २०७१ साल चैत ९ गतेबाट नेपाली सेनाले निर्माणको काम सुरु गरेपछि २०७४ सालमै कालीकोटबाट बाजुरासम्म सडकको ट्याक खोलेर गाडी गुडे । त्यसपछि क्रमशः बाजुरा र हुम्लासम्म गाडी पुग्यो । पुल निर्माण सँगसँगै सडक स्तरोन्नतिको कामलाई पनि गति दिनुपर्ने देखिएको छ ।

प्रकाशित मितिः   २४ असार २०८२, मंगलवार १३:१९