जलाधार संरक्षण गर्न गुरुयोजना

सुर्खेत: सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्रको संरक्षणका लागि गुरुयोजना बनाइएको छ । वीरेन्द्रनगरमा दिगोरूपमा पानीको सुरक्षा र भू–जोखिम न्यूनीकरणका लागि उत्तरी जलाधार क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न गुरुयोजना निर्माण गरिएको हो ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समेटेर गुरुयोजना निर्माणको योजना ल्याएको थियो । सोहीअनुसार गुरुयोजना निर्माणको काम अघि बढेको हो । वीरेन्द्रनगरको माथिल्लो तटिय क्षेत्रमा रहेका पानीको स्रोत संरक्षण गर्दै तल्लो क्षेत्रमा पानीको उपलब्धता सुनिश्चित गर्ने जनाइएको छ ।

गुरुयोजना निर्माणको काम भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले गरेको हो । कार्यालयले वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १, ४, ५ ७ र १२ माथिल्लो भागलाई समेटेर गुरुयोजना निर्माण गरेको छ । वीरेन्द्रनगर उपत्यकाका आउने पानीको मुख्य स्रोत उत्तरी क्षेत्रमा रहेका नेवारे खोला, खोर्के खोला, झुप्रा खोला, खरी खोला, बोरी खोला र इत्राम खोला, आँपडाँडी खोला, सोलीघोप्टेलगायत छन् । यिनै खोलाहरूको मुहान क्षेत्रको एकीकृत योजना तयार पारिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका डिभिजनल जलाधार अधिकृत शिखर चपाईंले जानकारी दिए ।

उनका अनुसार पानीका स्रोतको संरक्षण, परिचालन र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर योजना निर्माण गरिएको हो । राजधानीमा खानेपानीको खपत बढिरहेको भएपनि पछिल्लो समय खानेपानीका मुहान सुक्दै गहिरहेका छन् । त्यसैले जलाधार क्षेत्रको संरक्षणका लागि प्रदेश सरकारले आवश्यक कार्यक्रम बनाएर कार्यानवयन गर्दैछ । यो वर्ष गुरुयोजना निर्माण गरिएको छ भने आर्थिक वर्ष २०८२÷०८३ बाट गुरुयोजनाले औंल्याएका क्षेत्रमा कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ ।

गुरुयोजनामा विशेष गरेर माथिल्लो तटिय क्षेत्रको संरक्षणमा जोड दिइएको छ । पानीका स्रोतहरू भएको क्षेत्रको संरक्षण र तल्लो क्षेत्रमा परिचालनका लागि योजना बनाइएको छ । त्यसैगरी माथिल्लो क्षेत्रमा हुने बाढी र पहिरो तथा तल्लो क्षेत्रमा हुने डुबानबाट जोगाउने योजनालाई पनि गुरुयोजनाले समेटेको छ ।

वन क्षेत्रमा प्राकृतिक पुनरुत्पादन संरक्षण कार्य गर्ने र खाली भू—भाग प्रति, सार्वजनिक क्षेत्र, नदी र खोला किनारा एवम् सडक किनारामा वृक्षारोपण गरी त्यसको संरक्षण गरिने जनाइएको छ । पानी पुनर्भरण संरचना निर्माण र एकीकृत भू संरक्षणका कार्यक्रम पनि गर्न लागिएको छ ।

गुरुयोजनामाथि सोमवार वीरेन्द्रनगरमा सरोकारवालाबीच छलफलसमेत गरिएको छ । सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन अपरिहार्य भएको बताए । वीरेन्द्रनगरको खानेपानीको संकट समाधानका लागि जलस्रोत क्षेत्रको दीर्घकालीन सुरक्षा र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ ।

सामुदायिक वनहरूमा अवस्थित प्राकृतिक वनस्पति तथा जैविक विविधताको संरक्षण अहिलेको आवश्यकता भएको उल्लेख गरे । उनले भने, ‘वीरेन्द्रनगर उपत्यकामा खानेपानी अभाव बढ्दो छ । यस्तो अवस्थामा उत्तरी भेगको जलाधार क्षेत्र जहाँ स्रोतहरू छन् । त्यहाँ संरक्षण नगरी समाधान सम्भव छैन, ढलेका रूख र सडेका रूख बाहेक अन्य वनस्पतिको कटानी नियन्त्रणमा ल्याउनु पर्छ ।’

मुख्यमन्त्री कँडेलले जलाधार क्षेत्रको वैज्ञानिक संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि गुरुयोजना निर्माण कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए । योजनाको कार्यान्वयनमा स्थानीय तह, वन उपभोक्ता समूह, विज्ञ, नागरिक समाज र प्रदेश सरकारबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

बाढी, पहिरो, विपद् व्यवस्थापन, नदी–खोलाको सिमाङ्कन गर्न र पानीका मुहानको पहिचान गर्नका लागि जलाधार संरक्षण योजना बनाइएको हो । पछिल्लो समय धमाधम निर्माण भइरहेका भौतिक संरचनाहरूले पानीका मुहान सुक्ने तथा वातावरण प्रदुषण भइरहेको छ । सरकारले बढ्दो चुनौतीको सामना गर्न जलाधार व्यवस्थापनको नीति अवलम्बन गरेको हो । सोही अनुरूप सुर्खेतसहित प्रदेशका अन्य जिल्लाहरूमा पनि जलाधार क्षेत्र संरक्षण गुरुयोजना निर्माणको काम भइरहेको छ ।

प्रकाशित मितिः   २४ असार २०८२, मंगलवार १३:१९