जीर्ण बन्दै राजमार्ग, दुई लेन योजना अलपत्र

सुर्खेत: रत्न राजमार्गलाई दुई लेनको बनाउने योजना कार्यान्वयन हुन सकेको छैन । बाँकेको जमुनाहादेखि सुर्खेतको बाङ्गेसिमलसम्म जोड्ने राजमार्ग बरु दिनप्रति दिन जीर्ण बन्दै गएको छ । दोहोरो गाडी चल्न सक्नेसम्म कालोपत्रे नहुँदा यात्रु तथा सवारीसाधनले सास्ती खेप्दै आएका छन् ।

चार दशकभन्दा पुरानो सडक साँघुरो छ । ‘वान–वे’ कालोपत्रे गरिएको छ, साढे पाँच मिटर मात्रै । सडकैभरी खाल्डाखुल्डी छन् । तर सुधार र स्तरोन्नति हुन सकेको छैन । समयमै मर्मत नगर्दा जीर्ण बन्दै गएको छ । सवारी साधनको चाप बढिरहेको बेला सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम समेत बढेको सवारी चालकहरू बताउँछन् । ‘वान–वे’ कालोपत्रेका कारण यो सडकमा सवारी ठोक्किने, पल्टने र आवतजावतमा समस्या हुने गरेको उनीहरूको अनुभव छ । सवारी चालक विनोद नेपालीले गाडी क्रस गर्दा कालोपत्रे गरेको भाग छोडेर कच्चि सडकमा पुग्नुपर्ने बाध्यता रहेको सुनाए । उनले दुर्घटनाको जोखिमका साथसाथै सवारी साधन छिटो बिग्रने समस्यासमेत निम्त्याउने गरेको बताए । यसले पैदल यात्रुहरूलाई समेत त्रसित बनाउने गरेको छ । थुप्रै स्थानमा कालोपत्रे नै उप्किएको छ ।

कर्णाली प्रदेशको मुख्य प्रवेशमार्ग नै स्तरोन्नति हुन सकेको छैन । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले रत्न राजमार्गलाई स्तरोन्नति गर्दै दुई लेन बनाउने घोषणा गरेको थियो । आर्थिक वर्ष २०७७÷०७८ को बजेट भाषणमा सिद्धार्थ राजमार्ग र रत्न राजमार्गलाई ‘डेडिकेटेड डबल लेन’ मा स्तरोन्नति गर्नका लागि सात अर्ब बजेट विनियोजन भएको थियो । यसले यहाँका नागरिकमा उत्साह थपिएको थियो । तर उक्त योजना कार्यान्वयन हुन सकेन । बजेट कार्यान्वयन नभएरै फ्रिज भयो । त्यसपछिका वर्षहरूमा पनि सरकारले दुई लेनको बनाउने योजना आफ्ना बजेट भाषणसहित नीति तथा कार्यक्रममा छुटाउँदैन । तर कार्यान्वयनमा पनि आउँदैन । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उक्त कुरा अटाएको छ ।

दुई लेन योजना कार्यान्वयन नभएपनि सडक सुधारका लागि बेलाबखत काम भने हुने गरेका छन् । तर निकै सुस्त । बाँकेको जमुनाहादेखि सुर्खेतको हर्रेसम्म ६८ किलोमिटर सडक विस्तारका लागि सडक डिभिजन कार्यालय नेपालगञ्जले काम गरिरहेको छ । यता हर्रेदेखि सुर्खेतको बाङ्गेसिमलसम्म ४४ किलोमिटर सडक विस्तारको काम सडक डिभिजन कार्यालय सुर्खेतको जिम्मामा छ ।

कार्यालयहरूले सामान्य मर्मत गरी कामचलाउ बनाउने गरेका छन् । बजेट न्यून हुँदा काम गर्न नसकिएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी अशोक चौधरीले बताए । उनका अनुसार आर्थिक वर्ष २०४८/०४९ मा तीन मिटर सडक कालोपत्रे गरिएको थियो भने आर्थिक वर्ष २०५४/०५५ मा बढाएर साढे पाँच मिटर पुर्‍याइएको हो । त्यसपछि भने सामान्य मर्मतबाहेक सडक विस्तारको काम नभएको उनको भनाइ । आर्थिक २०७९/०८० मा प्रदेश राजधानी जोड्ने सडक स्तरोन्नति कार्यक्रमअन्र्तगत दश करोड बजेट विनियोजन भयो । अहिले राजमार्गअन्र्तगतका सडकमा आवधिक मर्मतको काम सञ्चालन गरिएको छ । नेपाल सरकारको १५ प्रतिशत र विश्व बैंकको ८५ प्रतिशत आर्थिक साझेदारीमा राजमार्गका सडक मर्मत काम भइरहेका छन् । आगामी असार मसान्तसम्ममा मर्मत गरिसक्ने गरी सम्झौता भइ काम सुरु भएको छ । यसका लागि गत असोज १५ गते तिरूपाते निर्माण सेवा घोराही दाङसँग ठेक्का सम्झौता भएको हो । भ्याटबाहेक नौ करोड २५ लाख बजेटमा ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार आउँदो असारसम्ममा आवधिक सडक मर्मतको काम गरिसक्नुपर्नेछ ।

सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्नका लागि सडक मर्मत गर्न लागिएको हो । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको कार्यालयका सूचना अधिकारी चौधरीले बताए । अहिलेलाई चार किलोमिटर सडकको आवधिक मर्मत गर्न भइरहेको छ ।

यसैबीच सोही राजमार्गअन्र्तगत पर्ने साढे दुई किलोमिटर सडक चार लेनको बनाउने काम पनि सुरु भएको छ । भेरीगंगा नगरपालिका वडा नं. १० को टोलिखोला पुलदेखि वडा नं. १२ को छिञ्चु बसपार्क चोकसम्म चार लेनको बनाउन लागिएको हो ।

छिञ्चु बजार क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरणका लागि सडक विस्तारसँगै साढे दुई किलोमिटर सडक चार लेनको बनाउने काम सुरु भएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । २०८० असार ३ गते श्री श्याम एण्ड शंकर–अन्शुबी जेभीसँग २०८२ असार ३ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । नाला निर्माण, फुटपाथ निर्माण, रेलिंग पोष्ट निर्माणको काम भएको छ । निर्माण कम्पनीसँग २८ करोड ८१ लाख ४४ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको छ । अहिलेुसम्म ६५ प्रतिशत काम सकिएको चौधरीले बताए । सम्झौता अवधि सकिन भने केही दिनमात्र बाँकी छ ।

सरकारले आगामी आर्थिक वर्षमा सडक मर्मतका लागि दुई करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा डेढ करोड बजेट विनियोजन गरिएको छ । सरकारले बर्सेनि सडक मर्मतका नाममा बजेट विनियोजन गरेको भएपनि विस्तारमा भने चासो देखाएको छैन । उक्त खण्डमा दैनिक रूपमा सवारी दुर्घटना हुनेगरेका छन् भने यात्रुले सास्ती पाइरहेका छन् ।

प्रकाशित मितिः   १९ असार २०८२, बिहीबार १२:१७