रोजगार मेला हुँदै
सुर्खेत: आज (बुधवार) देखि वीरेन्द्रनगरमा दुई दिने रोजगार मेला हुँदै छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुन लागेको हो ।
रोजगारीको खोजीमा रहेका युवा तथा विद्यार्थीहरूलाई उनीहरूको रुचि, सीप र क्षमताअनुसारको करिअर मार्गनिर्देश गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ । मेलाले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिहरूलाई एउटै स्थानमा ल्याई दुवै पक्षबीचको सहकार्यको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम नेपाल सरकार र स्विस सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत आयोजना गरिँदैछ । मेलामा ४० ओटा स्टलहरू रहनेछन्, जसमा विभिन्न सरकारी, गैरसरकारी, शैक्षिक, प्राविधिक र निजी क्षेत्रका रोजगारदाता र तालिम प्रदायक संस्थाहरू सहभागी हुनेछन् ।
प्रकाशित मितिः १८ असार २०८२, बुधबार ०५:०१
साझा बिसौनी ।