नीति–कार्यक्रम बनाउन सुझाव संकलन
सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले नीति तथा कार्यक्रम ल्याउनु पूर्व सुझाव मागेको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमको तयारी भइरहेका बेला नागरिकका सुझाव मागिएको हो ।
वीरेन्द्रनगरको सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा नगरवासीहरूको रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा नगरपालिकाले गरेको जनाएको छ । ‘वीरेन्द्रनगरको समृद्धि र दिगो विकासका लागि नागरिकको सहयोग र अर्थपूर्ण सहभागिता अपरिहार्य हुन्छ । अहिले वीरेन्द्रनगर नगरपालिका आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमको तयारीको क्रममा छ,’ नगर प्रमुख मोहनमाया ढकालको सचिवालयले भनेको छ ‘आगामी आर्थिक वर्षमा नगरपालिकाले के–कस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दा राम्रो होला ? यस विषयमा यहाँहरूको रचनात्मक सुझावका लागि अनुरोध छ ।’
नगरपालिकालाई सुझाव दिन नगर प्रमुख मोहनमाया ढकाल सचिवालयको फेसबुक पेजमा कमेन्ट वा हेलो मेयर टोल फ्री नम्बर १८१०५०५०००२५२ मार्फत सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । साथै नगरभित्रको विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसम्बन्धी कुनै पनि सल्लाह, सुझाव र गुनासो भएमा उक्त टोल फ्री नम्बरमा कार्यालय समयमा निःशुल्क फोन गर्न सकिने व्यवस्था मिलाइएको नगर प्रमुख ढकालले बताइन् ।
प्रकाशित मितिः ८ असार २०८२, आईतवार ११:३२
साझा बिसौनी ।