जलवायु परिवर्तनको मारमा कर्णाली
सुर्खेत: कर्णाली प्रदेश जलवायु परिवर्तनको मारमा छ । कृषि, जलस्रोत, वनस्पतिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएको छ । कृषि र वनस्पतिमा मात्र नभइ प्रदेशका नागरिकको जीवनयापनमा समेत असर देखिन थालेको विज्ञहरू बताउँछन् । अनुसन्धानकर्ता भुपेन्द्र शाहीले पछिल्लो समय हिमाली क्षेत्रका नदिनाला सुक्दै जानु, हिउँ पर्ने क्रम पनि कम हुनु, खेतीबालीमा रोगकिराको प्रकोप बढ्नु जलवायु परिवर्तनको असर भएको बताए । उनले भने, ‘हिमालको हिउँ पग्लने क्रम बढ्दैछ, हिउँ पर्ने क्रम रोकिएको छ । सानातिना नदिनाला सुक्दै गइरहेका छन् । बढ्दो तापक्रमले परिवर्तन ल्याएको छ । यसमा कर्णाली जलाधारमा पनि प्रत्यक्ष प्रभाव देखिन्छ ।’
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले जलवायु परिवर्तनले पार्ने असरहरूमा कर्णाली अग्रपंक्तिमा रहेको बताए । ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ’ उनले भने, ‘त्यसमा कर्णाली झनै विशेष छ । हिमाली जिल्लाहरूमा हिमताल बढेका छन् । जसले गर्दा बाढी आउने सम्भावना बढी छ ।’ पछिल्लो समय मनसुन परिवर्तनसँगै पानीको मात्रा घटबढ भइरहेको उनले बताए । ५÷६ दिनमा पर्ने पानी एकैदिनमा पर्ने र त्यसले ठूलो क्षति गर्ने गरेको उनले जानकारी दिए । जलवायु परिवर्तनमा देखिएको असर न्यूनीकरणका उपायका बारेमा अनुसन्धान आवश्यक रहेको शर्माको भनाइ छ ।
पछिल्ला वर्षहरूमा कृषि उत्पादनमा ह्रास आएको छ । नयाँ खालका रोगहरू देखा पर्न लागेका छन् । यसले कर्णाली प्रदेशको कृषि उत्पादन घट्दै गएको छ । जलवायु परिवर्तनको असर कृषिमा पर्दा उत्पादन घट्दै गएको पाइएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव परशुराम रावत कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष असर परिरहेको बताउँछन् । बाढी–पहिरोले खेतीयोग्य जमिन बगाएको छ । फलफूलमा विभिन्न किसिमका रोगकिराको प्रकोपले गर्दा उत्पादन घटेको छ । रावत भन्छन्, ‘फल्ने समयभन्दा अगाडि नै फलफूल फूल्ने, दाना लाग्ने भइरहेको छ । जसले गर्दा उत्पादन र गुणस्तर कम हुन्छ ।’
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका जलवायु परिवर्तन विशेषज्ञ डा. सालु अधिकारीले आगामी वर्षहरूमा जलवायु परिवर्तनको असर यहाँको कृषि क्षेत्रमा पर्ने बताइन् । उनका अनुसार वन जैविक विविधता र जलस्रोत विषयमा गरिएको अध्ययनमा कर्णालीमा उत्पादन हुने रैथाने कृषि वस्तुको पहिचानसमेत हराउँदै गएको पाइएको छ । ‘कर्णालीमा उत्पादन हुने फलफूल र खाद्यवस्तुको चिनारी विस्तारै मेटिँदै गएको देखिन्छ’ उनले भनिन्, ‘प्रदेशको अर्गानिक अवधारणालाई आत्मसात् गर्न थप अध्ययनको आवश्यकता छ ।’
विज्ञहरूका अनुभवले मात्र हैन, तथ्यांकले समेत बर्सेनि पानी पर्ने क्रम घडबढ रहेको देखाउँछ । जल तथा मौसम विज्ञान विभागको मौसमी तथ्यांक केलाउँदा झरी पर्ने दिन क्रमशः घट्दै गएको देखिएको छ । एक्कासी मुसलधारे पानी पर्ने क्रम भने बढ्दो छ । कम्तीमा तीन दिनसम्म लगातार एकदेखि १० मिलिमिटरसम्म निरन्तर वर्षा हुने क्रमलाई सामान्यतया झरी भनिन्छ । यो मौसमी अवस्था सन् २००० देखि त झन तीव्ररूपमा घटेको तथ्यांकले देखाउँछ ।
कर्णालीका विभिन्न स्थानबाट मौसन मापन गर्ने गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थलको मौसम मापन केन्द्रको तथ्यांकले समेत पानीपर्ने क्रम घडबढ देखाएको छ । सन् २०१८ देखि २०२५ सम्मको मनसुन अवधि (जुनदेखि सेम्टेम्बर) को प्राप्त विवरण विश्लेषण गर्दा त्यस्तो प्रवृत्ति देखिएको मौसम विज्ञान विभागका मौसम विज्ञान सहायक उर्मिला काफ्लेले बताइन् । उक्त तथ्यांक सुर्खेत विमानस्थलमा रहेको मौसम मापन केन्द्रको हो । २०१८ मा एक हजार ३३६. ५ मिलिलिटर वर्षा भएको थियो । २०१९ मा बढेर एक हजार ४८६.१ मिलिलिटर वर्षा भएको पाइएको छ । पानीपर्ने क्रम क्रमशः बढिरहेको देखिएको छ । २०२० मा एक हजार ८२६.९८, २०२१ मा एक हजार ९०९.३४, २०२२ मा घटेर एक हजार ७०८.३८, २०२३ मा एक हजार ५२०.२५, २०२४ मा एक हजार ५९३.२७ र २०२५ को हालसम्ममा २६९.३१ मिलिलिटर वर्षा भएको छ ।
यसैगरी हुम्लाको सिमकोट मापन केन्द्रको तथ्यांकले पनि पानी पर्नेक्रम घडबढ रहेको देखाएको छ । २०१८ मा ७९८.५ मिलिलिटर वर्षा भएको सहायक काफ्लेले बताइन् । २०१९ मा ३९१.४, २०२० मा ८१८.४६, २०२१ मा एक हजार १७०.०८,२०२२ मा ८२७.९९, २०२३ मा ६७२.५५, २०२४ मा ८८४.१८ र २०२५को हालसम्म १४९.५७ मिलिलिटर वर्षा भएको छ । काफ्लेले भनिन्, ‘पहिलेको तुलनामा झरी पर्ने दिन क्रमशः घट्दो छ, एक्कासी वर्षा हुने क्रम भने बढ्दो छ । जुन तथ्यांकमा पनि स्पष्ट हेर्न सकिन्छ ।’
हिउँ हराएको हिउँद
यो वर्षको हिउँदमा हिउँ हराएको छ । हिउँदमा हिउँ नपर्दा भावी पुस्ताका लागि कतै एकादेशको कथा त बन्ने होइनन् भन्ने चिन्ता थपिएको छ । जलवायु परिवर्तनका कारण यस वर्ष कर्णालीका हिमाली जिल्लामा हिमपात कम भएको पाइएको छ । विशेष गरेर पुस र माघमा हिउँ पर्छ । पहाड तथा तराईमा वर्षा नहुनुका कारण हिमाली क्षेत्रमा पनि हिमपात हुन सकेको छैन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्नुकुमार भाम बताउँछन् । उनका अनुसार यो वर्ष हिउँ नै देखिएन ।
हिउँ पर्ने समयमा भने मुसलधारे पानी परेको थियो । यो वर्ष कालीकोट, जुम्ला, मुगु डोल्पा र हुम्लामा मौसम प्रतिकूल भएर हिमपात नै नभएपछि कृषि उत्पादनमा कमी आएको छ । कर्णालीका हिमाली भेगमा हिमपात नहुँदा कृषि क्षेत्रमा सिँचाइको अभाव देखिएको छ । पर्याप्त मात्रामा हिमपात भएको अवस्थामा उत्पादन वृद्धि हुने गर्दछ भने हिमपात भएन भने सुख्खा लागेर उत्पादन घट्ने नगरप्रमुख भामले बताए ।
प्रायः मंसिर अन्तिमदेखि हिमपात हुनुपर्ने हो । कर्णालीका हिमाली भेगमा हिमपात भएपछि जीवनयापनमा समस्या हुने भएकाले यहाँका स्थानीय चिसो र हिमपात छल्न कात्तिक अन्तिम र मंसिर पहिलो साताभित्रै बेँसी झर्ने गर्दछन् । तर यो वर्ष भने सोचेजस्तो हिमपात नभएको मुगुका कृषक भरतबहादुर सुनारले बताए ।
प्रकाशित मितिः ८ असार २०८२, आईतवार ११:३१
साझा बिसौनी ।