गाउँका जाँगरिला विद्यार्थी, उत्पादन गर्दै, पढाइ खर्च जुटाउँदै

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ माघ । 
परिवारको आर्थिक अवस्था कमजोर । दुई छाक टार्न समेत मुस्किल । आम्दानीका अरु कुनै उपाय नभएपछि बालकहरू कमाउनका लागि अभिभावकसँगै मुग्लान पसे । बालिकाहरू पनि गाउँमै मजदुरीमा व्यस्त भए । जसको परिणाम अधिकांशको पढ्ने रहर बीचमै रोकियो । आर्थिक अभावकै कारण बीचमै पढाइ रोकिएपछि पश्चिम सुर्खेतको ग्रामीण क्षेत्रका बालबालिकाहरूले विद्यालय जाने रहर पूरा गर्न हिजोआज नयाँ जुक्ति निकालेका छन् । उनीहरूले अहिले गाउँमै उत्पादन गरेर आफ्नो पढाइ खर्चको जोहो गर्न थालेका हुन् ।
पढेर ठूलो मान्छे बन्ने सपना बोकेका उनीहरूले परिवारको मात्र भरपर्दा विद्यालय जान नसक्ने अवस्था आएपछि आफ्नो खर्च आफै जुटाउने अभियानमा जुटेका हुन् । विद्यालय जाने रहर पूरा गर्नका लागि यतिबेला ग्रामीण क्षेत्रका विद्यार्थीहरू आयआर्जन तथा उत्पादनमा व्यस्त हुन थालेका छन् । विद्यालयबाट बचत भएको समयमा उनीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा नै आयआर्जनका काम सुरु गरिरहेका छन् । कतिपय विद्यार्थीहरूले बारीमा लटरम्म तरकारी फलाएका छन् भने केहीले बाख्रा तथा कुखुरापालन व्यवसाय समेत सुरु गरेका छन् । बिहान र बेलुकीको समय तरकारी खेती र बाख्रापालनमा दिँदै आएका उनीहरूले त्यसको बिक्रीबाट भएको आम्दानीले पढाइ खर्च टार्ने गरेका छन् । आफ्नै परिश्रमबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका बाबियाचौर, विद्यापुर, गुठु, सालकोट र घाटगाउँ लगायतका ग्रामीण क्षेत्रका बालबालिकाहरूको विद्यालय जाने रहर अहिले पूरा भएको छ ।
कुनैबेला फुर्सदको समय त्यत्तिकै खेर फाल्दै आएका उनीहरू हिजोआज उत्पादन गर्दै आय–आर्जनमा जुट्न थालेका हुन् । विद्यालयमा पढ्दै गरेका र आर्थिक अभावका कारण बीचमै विद्यालय छोड्न बाध्य भएका उनीहरूले घर–घरमा तरकारी खेती गर्न थालेपछि गाउँलेहरू समेत दङ्ग परेका छन् । किर्डाक नेपालले बाबियाचौरमा १३ देखि १९ वर्ष उमेरका किशोरीलाई समेटेर गाउँमा चेतना किशोरी संवाद केन्द्र गठन गरिदिएपछि उनीहरूले आयआर्जनका काम गर्न थालेका हुन् । किशोरीहरूले अहिले आ–आफ्नो बारीमा बेमौसमी तरकारी, टमाटर र च्याउ खेती गर्नुका साथै बाख्रापालन समेत सुरु गरेका छन् । स्थानीय क्याम्पसमा अध्ययनरत देवी रावलले भनिन्, ‘आर्थिक अभावकै कारण गाउँमा धेरैको पढाइ बीचमै रोकियो, सामान्य पोशाक र कापी किन्ने पैसा समेत नहुँदा धेरै जना स्कुल नै जान सकेनन् । त्यसकारण हामीले नयाँ उपाय अपनाएका छौं, फुर्सदमा त्यत्तिकै सयम बिताउनु भन्दा अहिले बारीमा तरकारी खेती गरिरहेका छौं ।’ उनका अनुसार गाउँका कतिपय किशोरीले सिलाइ कटाइको काम गरेर समेत आम्दानी गर्न थालेका छन् । त्यसबाट प्राप्त भएको आम्दानीले पढाइ खर्च बेर्होनुको साथै उनीहरूले स्थानीय सहकारी संस्था र समूहमा समेत बचत गर्न थालेका छन् । 
यस्तै बाबियाचौरका कमल नेपालीको पनि आर्थिक अभावकै कारण कक्षा ८ मा पढ्दापढ्दै बीचमै पढाइ रोकियो । उनी परिवारका सदस्यहरूसँग कमाउनका लागि भन्दै भारत गए । तर, गाउँका साथीहरूले उत्पादन गर्दै स्कुल गएको जानकारी पाएपछि उनी पनि घरमा फिर्ता भए । अहिले उनले पनि आफ्नै बारीमा तरकारी खेती गर्र्नुका साथै बाख्रा पालेर आफ्नो पढाइ खर्चको जोहो गरिरहेका छन् । कमल मात्र होइन, गाउँका अधिकांश विद्यार्थीहरूले हिजोआज विभिन्न उत्पादनमूलक कामहरू गर्दै पढाइ खर्च जुटाउन थालेका छन् । गाउँमा रहेको नवकिरण किशोर संवाद केन्द्रमा आवद्ध भएर उनीहरूले  बिहान र बेलुकीको समयमा बारीमा लगाएको तरकारी खेती गोडमेल गर्ने गर्दछन् । विद्यापुरकी १३ वर्षीया रिमा विकलाई अहिले आफ्नो पढाइ खर्च जुटाउन कुनै समस्या छैन । उनी भन्छिन्, ‘मैले घरमा आफै तरकारी खेती गरेकी छु, त्यही तरकारी बिक्री गरेको पैसाले मेरो पढाइ खर्च टरेको छ । हिजोआज घरमा माग्नु परेको छैन, बरु उल्टै परिवारलाई पनि सहयोग पुगेको छ ।’ विद्यालय बाहेकको समयमा आफूले तरकारी खेतीमा समय दिने गरेको उनको भनाइ छ । संवाद केन्द्रमार्फत् विद्यालय उमेरका किशोरीहरूलाई आयआर्जन गर्ने उपाय, जीवन उपयोगी सीप र अधिकारको बारेमा जानकारी दिन थालेपछि उनीहरूले आत्मनिर्भर हुने बाटो रोजेका हुन् । आर्थिक रूपमा सक्षम हुन थालेपछि विद्यालय छोडेकाहरू विद्यालयमा भर्ना भएका छन् भने अन्य विद्यार्थीहरूले आफ्नो खर्च आफै जोहो गर्न थालेका छन् ।
प्रकाशित मितिः   १० माघ २०७२, आईतवार ११:४४