लडेरै जान्छ धेरैको ज्यान

सुर्खेत: आइतवार दैलेखमा भीरबाट खसेर एक जना युवाको मृत्यु भयो । भगवतीमाई गाउँपालिका–३ सान्तडाका २१ वर्षीय मीमबहादुर चन्दको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेश बरालले बताए । भगवतीमाई गाउँपालिका वडा नं. १ वेस्तडा बजारदेखि पैदल हिँड्दै वडा नं. ३ मेहेलतोलीस्थित घर जाने क्रममा रुम खोलाको लाप्का तरेर सिँढी चड्दै गर्दा खसेर चन्दको घटनास्थलमा मृत्यु भएको बरालले जानकारी दिए । घटनाको थप अनुसन्धान भने भइरहेको उनको भनाइ छ ।
केही दिन अघि मात्र दैलेखमै एक महिलाको मृत्यु भयो । महावु गाउँपालिका वडा नंं. ५ की ५३ वर्षीया पानतला नेपालीको पनि लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनको उपचारको क्रममा नेपागञ्जमा मृत्यु भएको हो । गत वैशाख ६ गते हुम्लामा भिरबाट लडेर एक महिलाको ज्यान गएको थियो । खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर ज्यान गएको हो ।
कर्णालीमा दिनहुँ जसो लडेर घाइते तथा मृत्यु भएका खबर आइरहेका हुन्छन् । प्रदेशको अधिकांश भू–भाग पहाडी क्षेत्र छ । यहाँका नागरिकको प्रमुख पेसा कृषि हो । कृषिसँगै जोडिन्छ पशुपालन पनि । घाँसपात, स्याउला, सोतरको लागि ज्यानै जोखिममा राखेर रूख–भीर गर्नुपर्ने यहाँका नागरिकको दैनिकी जस्तै बनेको छ । तर, यो दैनिकी सहज भने छैन । एकाबिहानै भिरपाखा पुगेर पशुका लागि घाँसपात जोहो गर्नुपर्छ । घाँसपात, स्याउला, सोतरको लागि ज्यानै जोखिममा राखेर रूख–भीर गर्नुपर्ने कर्णालीका महिलाहरूको गुनासो छ । पहाडी भू–भागमा बारीमा घाँस रोप्ने चलन छैन । पर्याप्त जग्गा नहुनु, रोपेको घाँस आवश्यकता अनुसार परिपूर्ति नहुनुजस्ता कारणले गर्दा पशुपालनका लागि जंगलकै भरपर्नुपर्ने अवस्था छ ।
घाँसदाउरा गर्ने क्रममा, बाटोमा हिँड्दाहिँड्दै चिप्लिएर, ढुङ्गा खसेर, खर काट्ने क्रममा तथा रूख र भीरबाट लडेर कर्णाली प्रदेशमा बर्सेनि दर्जनौँ व्यक्तिले अकालमै ज्यान गुमाउने गरेका छन् । प्रहरीमा पनि यो तथ्यांक डरलाग्दो देखिएको छ । चालु आर्थिक वर्षको हालसम्म भिर र रूखबाट लडेर ४३ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सबैभन्दा बढी दैलेखमा भिर र रूखबाट लडेर दश जनाले ज्यान गुमाएका छन् ।
गत आर्थिक वर्ष २०८०/०८१ मा भिर र रूखबाट लडेर प्रदेशभर ६९ जनाले ज्यान गुमाएका थिए । बर्सेनि भिर र रूखबाट लडेर ज्यान गुमाउने नागरिकको संख्या बढ्दो छ । आर्थिक वर्ष २०७१/०७२ मा भिरबाट लडेर कर्णालीमा ३७ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७२/०७३ मा ४८ जनाले ज्यान गुमाए भने आर्थिक वर्ष २०७३/०७४ मा ४६ जना, आर्थिक वर्ष २०७४/०७५ मा ३२ जनाको मृत्यु भएको तथ्यांक छ ।
यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ३४ जना, आर्थिक वर्ष २०७६/०७७ मा ३९ जना, आर्थिक वर्ष २०७७/०७८ मा ४५ जना, आर्थिक वर्ष २०७८/०७९ मा ४४ जना र आर्थिक वर्ष २०७९/०८० मा ४८ जनाको लडेरै ज्यान गएको थियो । यो संख्या अकालमा ज्यान गुमाउनेहरूको हो । यस्ता घटनाको प्रहरीमा कम मात्रै रिपोर्ट आउने गरेको छ । लडेर मृत्यु भएपछि शवपरीक्षण गर्नुपर्ने, भवितव्य ज्यानसम्बन्धी मुद्दा दर्ता हुने, सनाखत मुचुल्का बनाउनुपर्ने झन्झटका कारण धेरैले प्रहरीलाई जानकारी नै नदिएर अन्तिम संस्कार गर्ने गरेको समेत प्रदेश प्रहरीले जनाएको छ ।
कर्णालीका सबै स्थानीय तहमा वर्षमा एक–दुई जनादेखि एक दर्जनभन्दा बढीको संख्यामा लडेरै मानिसहरूले ज्यान गुमाउँदै आएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । कानुनी झन्झट बेहोर्नुपर्ने भएकोले धेरैले प्रहरीलाई खबर नगर्ने गरेको पाइएको उनको भनाइ छ । भौगोलिक रूपमा विकट कर्णालीमा रोगबाट भन्दा पनि लडेर मृत्यु हुने समस्या ठूलो रूपमा रहेको सरकारी अधिकारीको भनाइ छ । लडेर ज्यान गुमाउनेमा अधिकांश चौपाया पाल्ने किसान रहेका छन् । रूखभिर नगरी खान नपुग्ने भएकोले ज्यानलाई सधैँ हत्केलामा राखेर काम गर्नुपर्ने बाध्यता उनीहरूको छ । रोगभन्दा पनि रूख, बाटोघाटो र भिरपाखाले मानिसको ज्यान लैजाने गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
गाउँघरमा बस्दा वस्तुभाउ नपालीकन दैनिक गुजारा गर्न समेत कठिन हुने बाध्यता रहेको दैलेखकी हरिकला थापाको भनाइ छ । उनी भन्छिन्, ‘घाँसपात, स्याउला, सोतरको लागि ज्यानै जोखिममा राखेर रूख–भिर गर्नुपर्छ ।’ जाजरकोट, रूकुम, कालीकोट, डोल्पा, सुर्खेत, सल्यानजस्ता जिल्लाका अधिकांश बस्ती भिरालो ठाउँ र डरलाग्दा भिरपाखामा रहेको बताइन्छ । छिमेकी जिल्लाबाट सुर्खेत, कोहलपुर, नेपालगञ्जका अस्पताल लैजाँदालैजाँदै कतिपयको बाटोमै मृत्यु हुने गरेको पीडित परिवारका मानिसहरूको साझा अनुभव छ । गाउँमा सडक सुविधा नहुँदा र भएका ठाउँमा पनि एम्बुलेन्स सेवा र अन्य सवारीसाधन नपाउँदा घाइतेलाई तत्कालै उद्धार गर्नसमेत समस्या हुने गरेको थुप्रैको अनुभव छ ।
प्रकाशित मितिः ११ जेष्ठ २०८२, आईतवार ०५:०५
रजनी याेगी ।