वैदेशिक रोजगारीकै भर
कर्णालीमा चरम बेरोजगारी छ । सरकारी नीति–कार्यक्रम र बजेटमा बेरोजगारको समस्याले प्राथमिकता पाएपनि कार्यान्वयनको अवस्था फितलो छ । त्यस्ता कार्यक्रमको प्रभावकारिता निकै न्यून छ । जसले गर्दा कर्णालीमा बरोजगारको संख्या बर्सेनि बढ्दो छ । यहाँका अधिकांश युवालाई देशभित्रकै ठूला सहर, भारत वा तेस्रो मुलुक नगइ जीवन धान्न मुस्किल हुन्छ । हजारौँ नागरिकले आफ्नो ऊर्जाशील समय विदेशमा श्रम गरेर बिताइरहेका छन् । परिवारको गर्जो टार्न रोजगारीका लागि देशभित्र भौतारिनेको संख्या पनि उस्तै छ । उब्जनी हुने पर्याप्त जमिन र गाउँमै रोजगारीका अवसर नभएपछि युवा जनशक्ति कामको खोजिमा भारत (कालापहाड) र खाडी मुलुकमा जाने गरेका हुन् ।
विकराल बेरोजगारी समस्या न्यूनीकरणका लागि सरकारी निकायले भने वार्षिक अर्बाैं बजेट खर्च गरिरहेका छन् । तीन वटै तहका सरकारले सञ्चालन गर्दै आएका बेरोजगार लक्षित कार्यक्रमले भने उनीहरूको समस्या सम्बोधन गर्न सकेका छैनन् । ती कार्यक्रमले केही संख्यालाई मात्र त्यो पनि छोटो अवधिको रोजगारी दिइरहेका छन् । कर्णाली प्रदेशबाट अक्सर विदेशमै बस्नेहरूको जनसंख्या ठूलो देखिएको छ । राष्ट्रिय जनगणनाको पछिल्लो तथ्यांकअनुसार कर्णालीका ९४ हजार तीन सय २० जना अक्सर विदेशमा बसोबास गर्ने गरेका छन् । जसमा ७७ हजार दुई सय ७८ जना पुरुष छन् भने १७ हजार ४२ जना महिला छन् । परदेशतिरै बसोबास गर्ने जनसंख्या पनि पछिल्लो दशकमा वृद्धि भएको छ । २०६८ मा ६७ हजार पाँच सय ८२ जना परिवारभन्दा बाहिर बसोबास गरेको तथ्यांक थियो भने दश वर्षमा उक्त संख्या २६ हजार सात सय ३८ ले बढेको छ । कर्णालीबाट सबैभन्दा बढी सल्यान जिल्ला र सबैभन्दा कम श्रम स्वीकृति डोल्पा जिल्लाबाट लिइएको पाइएको छ ।
कर्णालीको ठूलो जनसंख्या वैदेशिक रोजगारीमा निर्भर देखिन्छ । वैदेशिक रोजगारी जोखिमपूर्ण पनि छ । पर्याप्त ज्ञान र जानकारी नहुँदा श्रम शोषणमा पर्नेदेखि ज्यान गुमाउनेसम्मका घटना भइरहेका छन् । यद्यपि पछिल्लो समय वैदेशिक रोजगारी सम्बन्धी परामर्श लिनेहरूको संख्या पनि बढेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा रहेको आप्रवासी स्रोत केन्द्र सहायता कक्षबाट पछिल्लो तीन महिनामा एक हजार पाँच सय भन्दा बढीले परामर्श लिएका छन् । दैनिक ४० देखि ७० जनाले सहायता कक्षबाट परामर्श लिने गरेका छन् । जसले गर्दा सुरक्षित आप्रवासन सम्बन्धी सचेतना अभिवृद्धि भएको छ । यसलाई अझ व्यापक र विस्तार गर्नुपर्ने देखिन्छ । अझै पनि ७० प्रतिशत युवा जनशक्ती सिपविना नै रोजगारीका लागि विदेश जाने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
प्रकाशित मितिः ७ जेष्ठ २०८२, बुधबार १७:१५
सम्पादकीय ।