तरकारीमा छ्यापछ्याप्ती विषादी

सुर्खेत: मंगलवार दाङबाट ल्याइएको बोडीमा विषादी भेटिएपछि नष्ट गरिएको छ । ६४ दशमलव ६२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी देखिएको हो ।

यस्तै गत वैशाख ८ गते सल्यानबाट ल्याइएको नौ क्विन्टल काउली नष्ट गरिएको थियो । परीक्षण गर्दा काउलीमा ९९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको थियो । वैशाख २४ गते सुर्खेतकै झुप्राबाट ल्याइएको काँक्रा पनि नष्ट गरिएको थियो । काँक्रामा ५३ प्रतिशत विषादी भेटिएको थियो । सोही मितिमा दाङबाट ल्याइएको एक सय ७५ केजी गोलभेडा नष्ट गरिएको थियो । गोलभेडामा ६२ प्रतिशत विषादी भेटिएको थियो ।

त्यसैगरी वैशाख ३० गते दैलेखको गुराँसबाट ल्याइएको फर्सीमा खान नमिल्ने विषादी शत–प्रतिशत भेटिपछि नष्ट गरिएको थियो । फर्सीमा ९९ दशमलव २५ प्रतिशत विषादी भेटिएको थियो । परीक्षण केन्द्रमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गर्ने गरिएको छ ।

पछिल्लो समय वीरेन्द्रनगरमा भित्रने तरकारीमा भएको विषादी परीक्षणलाई तीव्रता दिइएको छ । वीरेन्द्रनगरमा व्यवसायीहरूले भिœयाइरहेको तरकारीमा अत्यधिक विषादी देखिन थालेपछि परीक्षणको दायरा बढाइएको हो । कृषि थोक बजारमा स्थापना भएको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले हालसम्म गरेको नमूना परीक्षणमध्ये नौ वटा तरकारीहरूमा अत्यधिक विषादी प्रयोग भएको भन्दै नष्ट गरिएको छ ।

कार्तिक २०८१ मा स्थापना भएको एकाइले हालसम्म एक हजार पाँच सय चार वटा नमूना परीक्षण गरिसकेको छ । अहिले परीक्षणलाई तीव्र पारिएको द्रुत विश्लेषण प्रयोगशाला एकाइका प्रमुख धनसिंह धामीले बताए । जसमध्ये विषादी देखिएर नष्ट गर्नुपर्ने १२ वटा रहेका छन् । उनकाअनुसार यीमध्ये नौ वटा नमूनाहरू केही समय तरकारी क्वारेन्टाइनमा राखेर पुनः प्रयोग गर्न सकिने सिफारिस गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको कृषि शाखा र एकाइले संयुक्त बजार अनुगमन गरेर तरकारीमा विषादी भए–नभएको परीक्षणलाई तीव्रता दिन थालेका छन् । उनकाअनुसार वीरेन्द्रनगरमा भित्रिएको भारत र नेपालका विभिन्न ठाउँबाट ल्याइएको तरकारीहरूको नियमित रूपमा परीक्षणलाई व्यापकता दिनेगरी काम अघि बढाइएको छ ।

कुनै पनि तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादी भेटिएमा उपभोग गर्न मिल्ने र ३५ देखि ४५ प्रतिशत विषादी भेटिएमा केही दिन तरकारी क्वारेन्टाइनमा राखेर पुनः उपभोग गर्न मिल्छ । एकाइले नष्ट गर्न सिफारिस गरेका तरकारीहरूमा ४५ प्रतिशतभन्दा बढी नै विषादी भेटिने गरेको छ । ४५ प्रतिशत माथि विषादी भएको पुष्टि भएमा तत्कालै नष्ट गर्नुपर्ने हुन्छ । रासायनिक विषादीले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले यसको प्रयोग न्यूनीकरण अभियान नै थाले पनि उल्लेखनिय उपलब्धि हासिल गर्न नसकिएको जनाइएको छ । काँक्रा, भिण्डी, बोडी, गोलभेडा, फर्सी, धनिया, तितेकरेला, लौका सिमी र आलुको नमूना परीक्षण गर्दा बढी विषादी देखिएको छ ।

 

अर्गानिक प्रदेशमै छैन विषादी प्रयोगशाला

प्रदेश सरकारले अर्गानिक प्रदेशको परिकल्पाना गरिरहे पनि विषादी न्यूनिकरण हुन सकेको छैन । प्रदेश सरकारले सल्यानको कपुरकोट र पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाको हर्रेबाट विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने जनाएको छ । तर अहिलेसम्म विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएका छैनन् ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ मा कार्यालय स्थापना भएपनि विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन । कार्यालय स्थापना भएको वर्षाैं बितिसक्दा पनि प्रयोगशाला सञ्चालन हुन नसकेको हो । उपकरण उपलब्ध नभएकाले विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा नआएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडाबाट तथ्याङ्क व्यवस्थापन र प्रविधिसहित विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने बताए पनि सोहीबमोजिम काम भने हुन सकेको छैन ।

 

प्रकाशित मितिः   ७ जेष्ठ २०८२, बुधबार १७:१४