अपाङ्गतामैत्री संरचना

सार्वजनिक संरचनाहरू अपांगतामैत्री नहुँदा अपांगता भएका व्यक्तिहरूका लागि असहज हुने गरेको छ । सार्वजनिक संरचना अपांगतामैत्री हुनुपर्ने भएपनि यसतर्फ कमै ध्यान दिने गरेको देखिन्छ । तर पछिल्लो समय कर्णाली प्रदेश सरकारले अपाङ्गतामैत्री पूर्वाधार निर्माणमा ध्यान दिएको छ । पूर्वाधार निर्माण गर्दा अपाङ्गतामैत्री नभएको भन्दै सरकारको आलोचना हुने गरेको थियो । हरेक पूर्वाधार निर्माण गर्दा सरकारले ध्यान नदिएको गुनासो हुने गरेको थियो भने अपाङ्गता भएका नागरिकले सास्ती खेप्दै आएका थिए । अहिले भने प्रदेश सरकारले अपाङ्गमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन थालेको छ । जसअनुसार कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल काँक्रेविहारमा अपाङ्गता भएका व्यक्तिले समेत सहज अवलोकन गर्नेगरी पूर्वाधार निर्माण गर्न लागिएको छ ।

अपाङ्गता भएका व्यक्तिका लागि सहज रूपमा आवतजावत गर्नका लागि चौतारासहितको पैदलमार्ग निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । काँक्रेविहारसम्म पुग्ने सहज बाटो नहुँदा अपाङ्गता भएका व्यक्ति वञ्चित हुनु परेको थियो, अब अपाङ्गमैत्री पैदलमार्ग बनेपछि सबैले सहज रूपमा अवलोकन गर्न पाउनेछन् । अहिले सिढी उक्लन नसक्दा अपाङ्गता भएका व्यक्तिहरू टाढैबाट हेरेर फर्कने गरेका छन् । पैदल मार्ग निर्माणसँगै अपाङ्गता भएका व्यक्तिलाई समेत सहज हुनेछ । पैदलमार्ग निर्माणको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षमा ठेक्का सम्झौता गरेर चौतारासहितको पैदलमार्ग निर्माणको काम थालिएको हो । २०८१ चैत १२ गते डिभिजन वन कार्यालय सुर्खेतले श्री कृष्ण निर्माण सेवा सुर्खेतसँग ठेक्का सम्झौता गरेको हो । २०८२ असारमसान्तसम्म निर्माणको काम सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । अहिलेसम्म ४० प्रतिशत काम सकिएको छ । दुई वटा चौतारा र पाँच सय मिटर पैदलमार्ग निर्माणका लागि ४० लाखमा ठेक्का सम्झौता गरिएको छ । अहिले अन्तिम चरणको काम भइरहेको छ ।

यसैबीच काँक्रेविहारको पर्खाल निर्माणको काम पनि धमाधम भइरहेको छ । अहिलेसम्म पर्खाल निर्माणको ३० प्रतिशत काम सकिएको छ । यस्तै वित्तिय प्रगति २० प्रतिशत हासिल भएको छ । प्रदेश सरकारले काँक्रेविहार कम्पाउन्डिङ (पर्खाल) आयोजनालाई प्राथमिकतामा राखेको छ । २०७८ वैशाख १२ गते ऐतिहासिक काँक्रेविहार संरक्षित वन क्षेत्रको सुरक्षार्थ कम्पाउण्ड वाल(पर्खाल) निर्माण कार्य अघि बढाइएको थियो । काँक्रेविहार क्षेत्रमा पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल निर्माण गर्न लागिएको जनाइएको छ । काँक्रेविहार संरक्षण क्षेत्रको पश्चिम भागमा प्रमुख गेट बन्नेछ भने पूर्वमा आपतकालीन द्वार (इमर्जेन्सी एक्जिट) बन्ने भएको छ । एक हजार पाँच सय ६६ वटा पिल्लर निर्माण हुनेछन् । पर्खाल निर्माणसँगै पैदलमार्ग पनि निर्माण गर्न लागिएको छ ।

प्रकाशित मितिः   ६ जेष्ठ २०८२, मंगलवार ०५:०३