प्रतिपक्ष सहभागी नहुँदा प्रदेशसभाको बैठक स्थगित

सुर्खेत: प्रतिपक्ष दलका सदस्यहरू उपस्थित नभएपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । सोमवार आह्वान गरिएको बैठक कार्यसूचिमा प्रवेश नगरेर स्थगित गरिएको हो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)सहित नेकपा –एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसदहरू अनुपस्थित भएपछि सभामुख नन्दा गुरुङले बैठक स्थगित गरेकी हुन् ।

सभामुख गुरुङले संसद् बैठक सञ्चालन गरेपनि सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रतिपक्ष दलको उपस्थितिविना संसद् अगाडि बढाउन नहुने धारणा राखेका थिए । संसद् प्रतिपक्षको हुने मान्यतालाई मध्यनजर गर्दै संसद् सञ्चालन नगर्न उनले सभामुखलाई आग्रह गरे । लगत्तै सभामुख गुरुङले जेठ १८ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइन् ।

प्रतिपक्ष दल माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले महŒवपूर्ण एजेण्डाविना नै बैठक आह्वान गरिएकाले सहभागि नभएको बताए । एजेण्डा नभइ सत्तापक्ष दलहरूले बैठक सोमवार नै बोलाउने बताएपछि आफूहरू संसद् बैठकमा उपस्थित नभएको उनको भनाइ छ । यद्यपि, सत्तारुढ दलका नेताहरूले माओवादी अध्यक्ष मध्यपहाडी यात्रामा कर्णालीमा रहेकाले सांसदहरू त्यता जाँदा संसद्लाई बेवास्ता गरिएको बताएका छन् ।

सोमवारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कर्णालीका सडकका बारेमा सार्वजनिक महŒवको प्रस्ताव पेस गर्ने कार्यसूची थियो । सचेतक विष्टको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा कांग्रेस सांसद बलिमाया बुढा, लक्ष्मी सुनार र पूर्णबहादुर खत्री समर्थक थिए । त्यसैगरी बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचि थियो ।

प्रकाशित मितिः   ६ जेष्ठ २०८२, मंगलवार ०५:०१