पर्यटकीय गन्तव्य मालारानी गुफा

सुर्खेत: पुर्वी सुर्खेतको गुर्भाकोटमा रहेको मालारानी गुफा हेर्ने बढ्दै गएका छन् । गुफाभित्र विभिन्न आकृतिका तस्बिरहरू कैद गर्न मानिसहरू त्यहाँ पुग्ने गरेका हुन् । गुर्भाकोट नगरपालिका वडा नंं. २ मालारानीमा रहेको मालारानी गुफामा जाने पर्यटकहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ । गुफामा पर्यटकहरू आवतजावत, गुफा प्रेवशद्वार, सिढीहरू, प्रतिक्षालय, सडकबाटो लगायत आवश्यक सरचना तयार भएपछि गुफा घुम्न जाने पर्यटकहरू बढ्न थालेका हुन् ।

 

गुफा अवलोकनका लागि विभिन्न जिल्लाबाट मानिसहरू आउने गरेका छन् । दैनिक एक सयदेखि एक हजारसम्मले गुफा अवलोकन गर्ने गरेको जनाइएको छ ।

 

पछिल्लो समयमा मालारानी गुफाको आकर्षण बढ्दो छ । गुफाभित्र उज्यालोको लागि बत्तिको र अवलोकनका लागि सिढी र मुर्तिको सजावट गरिएको छ । शिवको मन्दिर र गुफाबाहिर मनमोहक दृश्य अवलोकन गर्न मानिसहरू निकै खुसी हुने गरेका छन् । मालारानी गुफाको अवलोकनका लागि अहिले पनि मानिसहरू विभिन्न जिल्लाबाट आउने गरेको गुफा हेरालु अमृत डाँगीले बताए । दैनिक एक सयदेखि एक हजारसम्मले गुफा अवलोकन गर्ने गरेको उनले जानकारी दिए । विद्यालय, विभिन्न संघ संस्थाहरूबाट ठूलो संख्यामा अध्ययन अवलोकनका लागि त्यहाँ पुग्ने गरेको डाँगीको भनाइ छ ।

गुफाको संरक्षणका लागि समिति निर्माण गरिएको छ । गुफा अवलोकन गर्न प्रवेश शूल्क निर्धारण गरिएको डाँगीले जानकारी दिए । उनका अनुसार प्रतिव्यक्ति २० रूपैयाँ निर्धारण गरिएको छ । अहिले पर्यटकहरूको हब बनिरहेको मालारानी गुफाको आकर्षण बढाउन विभिन्न पूर्वाधार निर्माणको काम भइरहेको गुर्भाकोट नगरपालिकाले जनाएको छ ।

गुफासम्म पुग्नका लागि सडक निर्माणको काम भइरहेको नगरप्रमुख हस्त पुनले बताए । प्रचुर पर्यटकीय सम्भावना बोकेको गुफाका लागि तीन तहकै सरकारको लगानीमा पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए । धार्मिक र ऐतिहासिक महŒव मात्र नभइ यो गुफा कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रको रूपमा रहेको छ । कर्णाली प्रदेश राजधानी नजिकै रहेको पर्यटकीय मालारानी गुफाको संरक्षणका लागि गुर्भाकोट नगरपालिका, कर्णाली प्रदेश सरकार र संघीय सरकारले पूर्वाधार निर्माणको काम गरिरहेका छन् ।

२०७९ मा नगरपालिकाले डीपीआर तयार गरेर पूर्वाधार निर्माणको काम गरिरहेको जनाइएको छ । गुफासम्म पुग्ने सडक स्तरोन्नतिका लागि एक करोड २० लाखमा ठेक्का सम्झौता भइ काम भइरहेको पुनले बताए । अहिलेसम्म तीन तहकै सरकारको दुई करोड लगानीमा गुफा प्रेवशद्वार, सिढी, प्रतिक्षालय, सडक बाटो, विद्युत विस्तार, मन्दिर निर्माणलगायतका काम भएका छन् । सडक निर्माण लगायतका थप पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको नगरप्रमुख पुनले जानकारी दिए ।

 

गोठालाले फेला परेको गुफा

२०७६ सालमा गोठालाले पहिलोपटक उक्त गुफा भेटेका थिए । बाख्रा एकाएक पहरा (चट्टान) को बीचमा रहेको सानो प्वालबाट भित्र पसेका थिए । बाख्रा पहराभित्र पसेपछि त्यहाँ गुफा रहेको पत्ता लागेको वडा नं. २ वडाध्यक्ष नोखबहादुर वलीले बताए । त्यतिबेलादेखि नै मालारानी गुफा हेर्न आन्तरिक पर्यटक मात्र पुग्ने गर्थे । पछिल्लो समय बाह्य पर्यटकसमेत आउन थालेका छन् । हालसम्म भारत र बेलायतका नागरिक गुफा हेर्न आएको वलीको भनाइ छ ।

एक सय ५० मिटर लम्बाइ र करिब दुई सय ५० मिटर चौडा भूभागमा गुफा फैलिएको अनुमान गरिएको छ । यकिन विवरण भने नभएको जनाइएको छ । गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप दशवटा द्वारको प्राकृतिक आकार देख्न सकिन्छ । मालारानी गुफा बाहिरको प्राकृतिक सुन्दरताले गुफाको थप सौन्दर्य बढाएको छ । गुफामा पुग्ने आन्तरिक एवम् बाह्य पर्यटकलाई त्यहाँको इतिहास तथा धार्मिक महŒवबारे जानकारी गराउने चलन छ । गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरूमा देखिने विभिन्न आकृतिले एकपटक हरेक नागरिकको ध्यान तान्छ । स्थानीय व्यक्तिको जग्गामा गुफा रहेको छ । गुफा हेरालु समेत रहेका अमृत डाँगीको तीन रोपनी तथा अन्य क्षेत्रमा गुफा फैलिएको छ । यतिनै क्षेत्रमा फैलिएको छ भन्ने एकिन विवरण भने तयार भइसकेको छैन ।

 

संरक्षणमा तीनतहकै सरकारको चासो

पर्यटकीय सम्भावना बोकेको गुफा संरक्षणमा तीन तहकै सरकारले चासो दिएका छन् । उचित बजेटको व्यवस्थापन गरेर आवश्यक पूर्वाधार निर्माणका काम गरिरहेका छन् । अहिले गुफासम्म पुग्ने चार किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका लागि दुई तहकै सरकारको ध्यानाकर्षण गराइएको नगरप्रमुख पुनले बताए । अहिले पनि आवश्यक पूर्वाधार निर्माणका लागि थप बजेट माग गरिएको छ ।

पर्यटकीय गन्तव्यहरूको खोजी गर्ने नीति प्रदेश सरकारले अबलम्वन गरेको छ । सोहीअनुरूप कामसमेत गरिएको छ । पर्यटकीय सम्भावनाको खोजी भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । जीर्ण संरचनाको संरक्षण गर्ने र नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नेगरी मन्त्रालयले काम गरिरहेको मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले बताए ।

प्रकाशित मितिः   ३ जेष्ठ २०८२, शनिबार ०५:०५