प्रशिक्षणका लागि भुषाल आउँदै
साझा बिसौनी संवाददाता
सुर्खेत, १० माघ ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आयोजनामा माघ १२ गते वीरेन्द्रनगरमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । पार्टीले सञ्चालन गरेको संविधान कार्यान्वयन र राष्ट्रिय एकता शुद्धीकरण अभियान २०७२ अन्तर्गत आयोजना गरिएको कार्यक्रममा संविधान घोषणाको ऐतिहासिक उपलब्धि, अबको लक्ष्य, राष्ट्रिय एकता शुद्धीकरण र देशको समृद्धि लगायतका विषयमा प्रशिक्षण हुने जनाइएको छ ।
वीरेन्द्रनगरस्थित घण्टाघरपार्कमा हुने भेलामा पार्टीका केन्द्रीय उपमहासचिव घनश्याम भुषाल, पोलिट्ब्यूरो सदस्य यामलाल कँडेल, प्रकाश ज्वाला, वैकल्पिक पोलिट्ब्यूरो सदस्य गोरख बोगटी र गौरा प्रसार्इंले सम्बोधन गर्ने एमाले सुर्खेतका सचिव मोहन बडुवालले जानकारी दिए । भेलामा जिल्लाका ६ सय ५० जना प्रतिनिधिको सहभागिता रहनेछ । प्रत्येक शाखा कमिटीबाट प्रमुख र महिला सदस्य, क्षेत्रीय कमिटीका पदाधिकारी र सम्पूर्ण सदस्यहरू, जिल्ला कमिटीका पूर्व सदस्यहरू, जनवर्गीय सङ्गठनका प्रमुख र एक जना महिला सदस्य, अखिल नेपाल महिला संघ र उत्पीडित जातीय मुक्ति समाजका जिल्ला कमिटीका सम्पूर्ण सदस्यहरू, ज्येष्ठ कम्प्युनिष्ट मञ्चका सम्पूर्ण सदस्यहरू, जिल्ला सल्लाहकार परिषद्का सदस्यहरू, जिल्ला प्रतिनिधि परिषद् सदस्यहरू लगायतको उपस्थिति भेलामा हुने बडुवालले जानकारी दिए ।
भेलाले संविधानका अन्तरवस्तुबारे आम नागरिकलाई सूसुचित गराउन सहयोग पुग्ने जनाइएको छ । भेलामा सहभागी अगुवा कार्यकर्ताहरूले संविधानको बारेमा विस्तृत बुझेर गाउँ–गाउँमा गइ
आम जनतालाई बुझाउने सचिव बडुवालले जनाए ।
साझा बिसौनी संवाददाता ।