संस्कृति संरक्षणमा जोड
साझा बिसौनी संवाददाता
सुर्खेत, १० माघ ।
थारु समुदायको संस्कृति संरक्षणमा गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । थारु कल्याणकारिणीसभा सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको माघी मिलन कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
थारुहरूको पर्व एवम् नयाँ वर्ष रूपमा मनाउने माघी देवानीको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य मानबहादुर चौधरीले संस्कृति संरक्षण गर्न थारु समुदाय आफै लाग्नुपर्ने बताए । आपसी समझदारी तथा सद्भाव कायम राख्न माघी पर्व मनाउनुले सामाजिक एकता कायम हुने उनले बताए । उनले वीरेन्द्रनगरको कालिमाटीमा बन्दै गरेको थारु संग्रहालय निर्माणका लागि सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको आग्रह थियो । थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद् मानबहादुर पन्नाले यस पर्वको महŒव युवा पुस्तालाई जानकारी गराउनुका साथै संस्कृतिको
संरक्षण गर्नका लागि निरन्तर मनाउन जरुरी रहेको बताए । नेपाली कांग्रेसका कमलराज रेग्मीले थारुहरूको संस्कृतिको जगेर्ना तथा संग्रहालय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । नेकपा एमालेका गणेश वलीले कालिमाटीमा बन्न लागेको थारु संग्रहालय तथा ठन्वा निर्माणमा आफू र आफ्नो पाटी सदैव सकारात्मक रहेको बताए । थारुहरूले एकै दिन नाचेर यसको संरक्षण नहुने भएकोले संस्कृति संरक्षणमा संस्थागत गर्नु थारु अगुवालाई सुझाव दिए ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद् भागीराम थारु ,थारु बरघर संघका केन्द्रीय सदस्य दुर्गबहादुर थारु, गुरुवा बैदावाका केन्द्रीय सदस्य जागुराम थारु, बरघर जिल्ला अध्यक्ष शेर बहादुर थारु, क्षेत्रीय स्वास्थ्य तालिम सुर्खेतका अधिकृत नोडनारायण चौधरी, जिल्ला वन कार्यालयका रेन्जर चन्देश्वर चौधरी, बलमलाल चौधरी, रेडियो नेपालका प्रतिनिधि बिन्तीराम महतो लगायतका थारु अगुवाहरूले शुभकामना तथा थारु हकहितका लागि थारुहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए । माघी मिलन कार्यक्रममा मघौटा नाच प्रतियोगिता समेत गरिएको थियो । नाच प्रतियोगितामा पदमपुर गाउँका समूह प्रथम, बुदबुदी गाउँका समूह द्वितीय, खोलीगाउँका समूह तृतीय र मनिकापुरका समूह चौथो स्थान सफल भएका थिए । प्रतियोगीहरूलाई प्रमुख अतिथि एवम् अतिथिहरूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम थारु कल्याणकारिणी सभा सुर्खेतका अध्यक्ष कृष्णबहादुर थारुको सभापतित्वमा सम्पन्न भएकोे हो ।
साझा बिसौनी संवाददाता ।