६ महिनामा चार करोड नाफा
साझा बिसौनी संवाददाता
सुर्खेत, १० माघ ।
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सुर्खेतले ६ महिनामा चार करोड ३८ लाख बराबरको नाफा गरेको छ । बैंकले आइतवार ५१ औं वार्षिकोत्सव कार्यक्रमको अयोजना गरेर चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म मात्र सो रकम नाफा गरेको जानकारी दिएको हो ।
बैंकले ६ महिनाको अवधिसम्म एक अर्ब ५७ करोड ९३ लाख ८४ हजार चार सय ९६ निक्षेप सङ्कलन गरेको राष्ट्रिय वाणिज्य बैंक सुर्खेतका आइटी फोकल चिरञ्जीवी गिरीले जानकारी दिए । उनका अनुसार बैंकले एक अर्ब आठ करोड ८९ लाख ११ हजार एक सय ५३ रूपैयाँ कर्जा लगानी गरेको छ । ४५ हजार ग्राहक संख्या रहेको बैंकले रेमिटान्स, ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटीएम सेवा सञ्चालन गरिरहेको बैंकका प्रबन्धक होताराम योगीले जानकारी दिए । बैंकले हाल दिँदै आएको सेवाहरूमा चल्ती, बचत, मुद्दती खाता, व्यापारिक कर्जा, राष्ट्र सेवक कर्जा, शिक्षक कर्जा, सुनचाँदी कर्जा, कृषि कर्जा र विपन्न वर्ग कर्जा सेवा सञ्चालनमा ल्याएको प्रबन्धक योगीले बताए ।
वार्षिकोत्सव कार्यक्रममा बैंकले सेवाग्राहीहरूलाई टिका तथा सम्मान स्वरूप फलफूल वितरण गरेको थियो । साथै बैंकले आफ्नो स्थापना दिवसमा समेत सेवाग्राहीहरूलाई सेवा प्रवाह गरेको बताइएको छ । कार्यक्रममा शाखा कार्यालय सुर्खेतका प्रबन्धक होताराम योगी, सहायक प्रबन्धक रत्नबहादुर थापा, प्रशासन प्रमुख खड्कबहादुर केसी, खचाञ्जी थीरबहादुर थापा, कर्जा प्रमुख पृथबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
साझा बिसौनी संवाददाता ।