ग्रामीण सडक सुधार

कर्णाली प्रदेशमा ग्रामीण सडक विस्तार र स्तरोन्नतिले तीव्रता पाएको छ । संघीयता कार्यान्वयन भएयता मात्रै नयाँ सडकको ट्रयाक खोल्नेदेखि पुराना सडकको स्तरोन्नतिमा उल्लेख्य प्रगति भएको हो । तीन तहकै सरकारको प्राथमिकतामा परेका कारण पनि पछिल्लो सात वर्षमा धेरै सडकका ट्रयाक खोलिएका छन् । पूर्वाधार विकासमा सडकलाई आधारभूत र पहिलो प्राथमिकतामा राख्ने गरिन्छ । त्यसैले पनि सरकारले सडक योजना निर्माणलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने गरेका छन् । अघिल्ला वर्षहरूमा नयाँ सकड निर्माणमा जोड दिने गरिएकोमा पछिल्लो समय भने भएका सडक स्तरोन्नतिमा सरकारले ध्यान केन्द्रित गरेको छ । ग्रामिण सडकहरू कालोपत्रे गर्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको देखिन्छ ।

ट्रयाक खोलिए पनि मर्मतमा चासो नदिँदा अलपत्र परेका सडक स्तरोन्नति गर्न लागिएको छ । सरकारको यो नीति अनुरूप प्रदेशका ग्रामीण सडकहरू पनि अब कालोपत्रे हुने भएका छन् । कर्णालीका ७९ वटै पालिका केन्द्रमा जोड्ने ग्रामीण सडकहरू कालोपत्रे गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेश सरकार र त्यस अन्तर्गतको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रममार्फत कर्णालीका ग्रामीण सडकहरू कालोपत्रे गर्न थालिएको हो । ग्रामीण सडकअन्तर्गत पालिका जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखिएको छ । संघीय सरकार र स्थानीय तहसँग पनि समन्वय गरी कर्णालीका सबै पालिका मुकाममा जोड्ने सडकहरू क्रमशः कालोपत्रे गरिने बताइएको छ । जसका लागि पहिलो चरण कर्णाली प्रदेश प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रममार्फत कर्णालीका विभिन्न जिल्लाका २० वटा पालिकामा जोड्ने सडकहरू कालोपत्रे गर्ने तयारी गरिएको छ । प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजना निर्माण गरी लागू गरेको छ । कर्णाली प्रदेशका दश वटै जिल्लामा आवश्यक सडक पूर्वाधारलाई क्रमशः निर्माण गरी ग्रामीणस्तरसम्म यातायात सेवाको सहजता प्रदान गर्न प्रादेशिक गुरुयोजना निर्माण गरी लागू गरेको हो । अब गुरुयोजना अनुरूप प्रदेशका सडक निर्माण व्यवस्थित हुनेछन् ।

आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममार्फत विकासको मेरुदण्डका रूपमा रहेको सडक पूर्वाधारलाई सन्तुलित, व्यवस्थित, प्रभावकारी, दिगो, भरपर्दो र सुरिक्षत बनाउन पहिचान भएका प्रदेश लोकमार्ग तथा अन्य मार्गहरूको प्राथमिकीकरणसहित प्रादेशिक सडक गुरुयोजना तयार गरिने तथा उक्त गुरुयोजनाका आधारमा क्रमशः वातावरणमैत्री र अपांगमैत्री सडक आयोजनाहरू कार्यान्वयन गरिने कुरा घोषणा भएको थियो । कर्णाली प्रदेश सरकारकै आर्थिक वर्ष २०८१÷०८२ को बजेट वक्तव्यमा कर्णाली प्रदेशमा सुरिक्षत, गुणस्तरीय र भरपर्दो सडक पूर्वाधार विकासका लागि पहिचान भएका प्रदेश लोकमार्ग तथा अन्य मार्गहरूको प्राथमिकीकरणसहित प्रादेशिक सडक गुरुयोजना तयार गरिने तथा गुरुयोजनाअनुसार सडकहरूको प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनेछ छ ।

प्रकाशित मितिः   २९ बैशाख २०८२, सोमबार ०५:०३