खानेपानीमा लगानी
कर्णाली प्रदेश सरकारले ठूला आयोजना निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ । सह–लगानीमा भएपनि आयोजना निर्माण गर्ने नीति प्रदेश सरकारले लिएको हो । कर्णाली प्रदेशमा निर्माण हुन लागेका दुई ठूला खानेपानी आयोजनामा संघीय खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार जलश्रोत तथा उर्जा विकास मन्त्रालयबीच लागत साझेदारी सम्झौता भएको छ । जस अनुसार सुर्खेतको वीरेन्द्रनगरमा निर्माण हुने भेरी पम्पिङ्ग खानेपानी आयोजना र सल्यानको शारदा नगरपालिकामा संचालित बृह्त खानेपानी आयोजना रहेका छन् । प्रदेश सरकारको करिब ९४ करोड लागत सहभागितामा दुई ठूला आयोजना निर्माण गर्न लागिएको हो । ठूला आयोजना निर्माण गरेर प्रतिफल हात पार्ने योजना प्रदेश सरकारको रहेको छ । स–साना आयोजना कार्यान्वयन गर्दा प्रतिफल न्यून हुने तथा नागरिकले क्षणिक मात्र लाभ लिने भएकाले प्रदेश सरकारले ठूला आयोजना निर्माणमा चासो देखाएको हो । यी आयोजना प्रदेश गौरवकै रूपमा रहेका आयोजना हुन् ।
त्रिपक्षीय सम्झौतामा दुई ठूला खानेपानीका आयोजना हुने जलश्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । विश्व बंैकको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र स्थानीय सरकारको सात प्रतिशत साझेदारीमा आयोजना निर्माण गर्न लागिएको हो । चार वर्षभित्र सम्पन्न हुने यी दुबै आयोजनाबाट यस क्षेत्रमा बढ्दो खानेपानीको अभाव पुरा हुनेछ । सहलगानीमा निर्माण हुने आयोजनाका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । विश्व बंंैक र तीन तहका सरकारको लगानीमा आयोजना निर्माण हुने छ । नागरिकलाई खानेपानी उपलब्ध गराउन ठूला परियोजना सञ्चालन गर्न लागिएको हो । सरकारले खानेपानीको स्रोत पहिचान गरेर ठूला खानेपानीका आयोजना सञ्चालन गर्ने नीति अबलम्वन गरेको छ । सोही नीति बमोजिम प्रदेश सरकारले दुई ठूला खानेपानीका आयोजनामा लगानी गरेको हो ।
भेरी नदीको पानी लिफ्टिङ गरेर तीन वर्षभित्रैमा वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता भइ काम अघि बढेको हो । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजन बन्न लागेको हो । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा हाल खानेपानीको संकट छ । भेरी लिफ्टिङ आयोजना अघि बढ्ने भएसँगै वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः २६ बैशाख २०८२, शुक्रबार ०५:०३
सम्पादकीय ।