सहलगानीमा दुई ठूला खानेपानी आयोजना

सुर्खेत: कर्णाली प्रदेश सरकारले ठूला आयोजना निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ । सह–लगानीमा भएपनि आयोजना निर्माण गर्ने नीति प्रदेश सरकारले लिएको हो । कर्णाली प्रदेशमा निर्माण हुन लागेका दुई ठूला खानेपानी आयोजनामा संघीय खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच लागत साझेदारी सम्झौता भएको छ । जसअनुसार सुर्खेतको वीरेन्द्रनगरमा निर्माण हुने भेरी पम्पिङ्ग खानेपानी आयोजना र सल्यानको शारदा नगरपालिकामा सञ्चालित बृहत् खानेपानी आयोजना रहेका छन् ।

 

कर्णाली प्रदेशमा निर्माण हुन लागेका दुई ठूला खानेपानी आयोजनामा संघीय खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार जलश्रोत तथा उर्जा विकास मन्त्रालयबीच लागत साझेदारी सम्झौता भएको छ ।

 

प्रदेश सरकारको करिब ९४ करोड लागत सहभागितामा दुई ठूला आयोजना निर्माण गर्न लागिएको हो । ठूला आयोजना निर्माण गरेर प्रतिफल हात पार्ने योजना प्रदेश सरकारको रहेको छ । स–साना आयोजना कार्यान्वयन गर्दा प्रतिफल न्यून हुने तथा नागरिकले क्षणिक मात्र लाभ लिने भएकाले प्रदेश सरकारले ठूला आयोजना निर्माणमा चासो देखाएको हो । यी आयोजना प्रदेश गौरवकै रूपमा रहेका आयोजना हुन् ।

त्रिपक्षीय सम्झौतामा दुई ठूला खानेपानीका आयोजना हुने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । विश्व बैंकको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र स्थानीय सरकारको सात प्रतिशत साझेदारीमा आयोजना निर्माण गर्न लागिएको हो । चार वर्षभित्र सम्पन्न हुने यी दुवै आयोजनाबाट यस क्षेत्रमा बढ्दो खानेपानीको अभाव पूरा हुनेछ । सहलगानीमा निर्माण हुने आयोजनाका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको मन्त्रालयका प्रवक्ता पदमराज देवकोटाले बताए । विश्व बंंैक र तीन तहका सरकारको लगानीमा आयोजना निर्माण हुने उनले जानकारी दिए । नागरिकलाई खानेपानी उपलब्ध गराउन ठूला परियोजना सञ्चालन गर्न लागिएको देवकोटाको भनाइ छ ।

सरकारले खानेपानीको स्रोत पहिचान गरेर ठूला खानेपानीका आयोजना सञ्चालन गर्ने नीति अवलम्बन गरेको छ । सोही नीतिबमोजिम प्रदेश सरकारले दुई ठूला खानेपानीका आयोजनामा लगानी गरेको हो । यो वर्ष ठूला खानेपानीका योजनालाई प्राथमिकतामा राखिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले बताइन् । साझेदारीममा ठूला खानेपानीका आयोजना सञ्चालन गर्ने लक्ष्य अनुरूप काम भइरहेको उनको भनाइ छ । बहुवर्षीय र क्रमागत आयोजनालाई पूर्ण कार्यान्वयनमा जोड दिइएको उनले बताइन् । भेरी लिफ्टिङजस्ता आयोजना अघि बढाउन सरकारले जोड दिइएको छ ।

 

सुरुवाती चरणका काम धमाधम

यसैबीच भेरी लिफ्टिङ आयोजनाअन्तर्गतका सुरुवाती चरणका काम धमाधम भइरहेका छन् । ट्याङकी निर्माण र पाइपलाइन विस्तारको सर्वेको काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत पाँचवटा ठूला ट्याङ्की निर्माण गरिनेछ । सुरुवाती चरणका काम धमाधम अघि बढेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना इकाईका प्रमुख सन्जिवकुमार साहले बताए । उनका अनुसार पाइपलाइन विस्तारको प्रि–फिजिविलीटी अध्ययनको काम धमाधम भइरहेको छ । उनले भने, ‘सम्झौता गरेर पहिलो चरणमा काम भइरहेको छ, योजनावद्ध रूपमा काम अघि बढाउछौँ, तीन तहकै सरकारको समन्वयमा काम भइरहेको हो ।’

भेरी नदीको पानी लिफ्टिङ गरेर तीन वर्षभित्रैमा वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता भइ काम अघि बढेको हो । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना इकाई कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपररेसन कम्पनी लिमेटेडबीच ठेक्का सम्झौता भएको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको आयोजना इकाईका प्रमुख सन्जिवकुमार साहले जानकारी दिए । उनका अनुसार २०८१ भदौ १२ गतेदेखि २०८४ भदौ १२ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

तीन अर्ब पाँच करोडमा ठेक्का सम्झौता गरिएको छ । ग्लोबल टेण्डरमार्फत् गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनौटमा परेको हो । वीरेन्द्रनगर नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’ को रूपमा अगाडि सारेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण प्रक्रियामा प्रवेश गरेको हो । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजन बन्न लागेको हो । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कुल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ ।

आयोजनाअन्तर्गत भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत् अमृतडाँडामा पानी ल्याइने छ । अमृतडाँडामा रिजर्वेशन ट्यांकी निर्माण हुनेछ । उक्त स्थानबाट मुख्य प्रसारण लाइनमार्फत् उपत्यकामा पानी वितरण गरिने छ । आयोजनाको पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, रिजर्वेशन ट्यांकी निर्माण, मुख्य पानी प्रसारण लाइन विस्तारलगायतका काम गरिने बताइएको छ । त्यस्तै, दोस्रो चरणमा सञ्चालन व्यवस्थापनका कामहरू अघि बढाइने छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको ठेक्का सम्झौता गरिएको हो ।

वीरेन्द्रनगर उपत्यकामा भेरीको पानी ल्याउन विगतका वर्षहरूमा संघीय र प्रदेश सरकारले पटक–पटक बजेट विनियोजन गर्ने गरेका थिए । योजना कार्यान्वयन नहुँदा रकम फ्रिज जाने गरेको थियो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा हाल खानेपानीको संकट छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले २० हजार घरधुरीलाई धारामार्फत् खानेपानी वितरण गरिँदै आएको छ । अझै करिब १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग रहेको जनाइएको छ । भेरी लिफ्टिङ आयोजना अघि बढ्ने भएसँगै वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   २५ बैशाख २०८२, बिहीबार ०५:०५