आयोजना अलपत्र छोड्ने ठेकेदारमाथि निगरानी
सुर्खेत: निर्माण सम्झौता भएर पनि अलपत्र परेका आयोजना अघि बढाउन प्रदेश सरकारले चासो देखाएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले ३५ वटा महŒवपूर्ण आयोजना अलपत्र परेपछि सम्बन्धित निर्माण व्यवसायीहरूलाई निर्धारित समयमै योजना अघि बढाउन निर्देशन दिएका छन् ।
दशवटै जिल्लाका पूर्वाधार हेर्ने कार्यालय र निर्माण व्यवसायीलाई बोलाएर उनले काम अघि बढाउन भनेका हुन् । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयअन्तर्गतका कार्यालयहरूबाट सञ्चालित प्रगति सन्तोषजनक नभएका आयोजनाहरूका निर्माण व्यवसायी र सम्बन्धित कार्यालयका प्रमुखहरूलाई बोलाएर सुस्त गतिमा भइरहेका कामको विवरण माग गरिएको थियो । अलपत्र अवस्थामा रहेका ३५ योजनाहरूलाई छिटो अघि बढाउन निर्देशन दिइएको छ ।
साधनस्रोत र बजेट हुँदाहुँदै पनि योजना अलपत्र पार्ने तथा आयोजना होल्ड गर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने नीति प्रदेश सरकारले अबलम्वन गरेको छ । काम गर्दा केही असहज भएमा सहज बनाउने तथा काम गर्ने वातावरण हुँदाहुँदै काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई निगरानीमा राखिएको जनाएको छ । केही योजनाको भने मिति नै तोकेर निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।
मुख्यमन्त्री कँडेलले अलपत्र योजनाको काम तोकिएकै मितिमा सक्नुपर्ने बताएका छन् । निर्माण व्यवसायीहरूसँग उनले भनेका छन्, ‘तपार्इंहरू काम गर्नुस्, असहज भएमा मलाई भन्नुहोस् तर विभिन्न बहानामा काम अलपत्र पार्ने छुट तपार्इंहरूलाई छैन, अन्य अलपत्र बाँकी रहेका योजनाको विवरण माग गरेर काम अघि बढाउँछौँ ।’ चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने योजनाको विवरण संकलन गर्न समेत मुख्यमन्त्री कँडेलले सबै सम्बन्धित कार्यालयलाई भनेका छन् ।
अलपत्र परेका केही योजनाको भने समय नै तोकेर काम सम्पन्न गर्न भनिएको छ । मोतिदान लालसुब्बा मेन्द्रोजेभीलाई दैलेख जिल्लामा रहेको माथिल्लो डुङ्गेश्वर–दुल्लू–बेहुली–कालीकोट सडक र साङ्गेताडा विन्द्रासैनी–चामुण्डा सडक जेठ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ । त्रिवेणी–नर्कु–इल–सडकलाई पनि समयमै काम सम्पन्न गर्न भनिएको छ । उक्त सडक खण्डको जिम्मा सूर्य–बाङ्गणी जेभीले लिएको छ ।
यसैगरी नौमुले–विरूवा सिद्वान्त–श्रृङ्गेश्वर आयेजानलाई समेत थपिएको म्यादभित्र काम सम्पन्न गर्न मुख्यमन्त्रीले निर्देशन दिएका छन् । गाल्वा निर्माण सेवालाई तल्लो करेली पक्की पुल निर्माणको काम समयमा नै सम्पन्न गर्न सुझाइएको छ । कुइने–जामु–बाबियाचौर–भत्तरी (प्याकेज २ः जलजला– २) लाई पनि तोकिएकै समयमा निर्माण सम्पन्न गर्न भनिएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ्ग क्षेत्र सहरी सडकलाई समेत तोकिएको मितिमा काम सम्पन्न गर्न सुझाइएको छ भने घाटगाउँ–गटु–सालम–कोरलाबास–कुल्लीमोर सडक निर्माणको काम समयमै सम्पन्न गर्न निर्देशन दिइएको हो । साथै मुख्यमन्त्री कँडेलले समयमै काम सम्पन्न नभएमा कारबाही गरिने समेत जनाए ।
बड्डिचौर–बिउरेनी–बावियाचौर–विधापूर सडकको कामलाई तीव्रता दिन मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । यसैगरी कुइने जामु–बाँवियाचौर प्याकेज–१ को काम तत्कालै सम्पन्न गर्न सुझाव दिइएको छ । यी आयोजना प्रदेश सरकारको निगरानीमा छन् । मिति नै तोकेर काम सम्पन्न गर्न भनिएको छ । यदि तोकिएको मितिमा काम सम्पन्न नभए कानुनी कारबाहीको प्रक्रियामा लैजाने जनाइएको छ ।
आयोजना कार्यान्वयनमा ढिलाई हुँदा प्रदेशको विकास खर्चसमेत कमजोर हुँदै आएको छ । प्रदेश सरकारले यो वर्ष भने पुँजीगत खर्च बढाउन पूर्वाधार निर्माणमा जोड दिएको छ । योजना कार्यान्वयनको नीति नै निर्माण गरेर काम अघि बढाइएको हो । सोही योजना अनुरूप प्रदेश सरकारले काम गरिरहेको छ । जसअनुसार मुख्यमन्त्री कँडेल स्वयम् आयोजनाहरूको स्थलगत अनुगमन गर्ने र सम्बन्धित निकायहरूलाई निर्देशन दिने गरेका छन् ।
प्रकाशित मितिः २३ बैशाख २०८२, मंगलवार ०५:०५
रजनी याेगी ।