श्रीमानबाटै प्रेमाको हत्या

सुर्खेत: छिञ्चुमा शव भेटिएकी प्रेमा ओलीको उनकै श्रीमानबाट हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भेरीगंगा नगरपालिका– १२ को डम्पिङ साइट नजिक खोल्सामा डुबेको अवस्थामा आइतवार ओलीको शव भेटिएको थियो ।

प्रेमाको हत्या आशंकामा प्रहरीले आइतवार नै उनका श्रीमान जक्सन खत्रीलाई पक्राउ गरिसकेको छ । श्रीमानले पठाएको सामान लिन भन्दै गुर्भाकोटबाट छिञ्चु पुगेकी प्रेमाको शव फेला परेको थियो । उनीहरूबीच विगतदेखि नै झगडा हुने गरेको जानकारी पाएपछि प्रहरीले श्रीमान खत्रीलाई सोधपुछ गरेको थियो ।

प्रहरीको टोली पक्राउ गर्न घरमै पुगेपछि निकै हतोत्साहित बनेका खत्रीले सुरूमा इन्कारी बयान दिएका थिए । विचलित हुने, आत्तिने, फरक–फरक जवाफ दिने गरेपछि उनलाई नियन्त्रणमा लिएको थियो । पछि इलाका प्रहरी कार्यालय छिञ्चुमा ल्याएपछि उनले हत्या स्वीकार गरेको जनाइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । खत्री नेपाली सेनामा कार्यरत रहेको जनाइएको छ ।

परिवारका सदस्यहरूका अनुसार दुवै जनाको सम्बन्धमा विगत केही वर्षदेखि नै खटपट चलेको थियो । गुर्भाकोट नगरपालिका–५ थक्लेनीका खत्री र ओलीका ६ वर्षिय छोरी छन् ।

प्रकाशित मितिः   २३ बैशाख २०८२, मंगलवार ०५:०२