बाँके–बर्दियालाई कर्णालीमा गाभ्न माग

 

सुर्खेत: नेकपा (एकीकृत समाजवादी) ले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न माग गरेको छ । शुक्रवार कर्णाली प्रदेश सरकारलाई ५१ बुँदे माग पत्र बुझाउँदै एकीकृत समाजवादीले बाँके र बर्दिया पनि कर्णाली प्रदेशमा रहने गरी सीमा विस्तारका लागि पहल गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।

प्रदेश कमिटीका अध्यक्ष ठगेन्द्रप्रकाश पुरी नेतृत्वको टोलिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धोलकराज ढकालमार्फत कर्णाली सरकारलाई मागपत्र बुझाएका छ । जसमा यातायात सुविधालाई व्यवस्थित गर्न जुमुनाहा–कोहलपुर–सुर्खेत–खुलालु–सरिसल्ला–हिल्सा सडक, कोहलपुर–सुर्खेत–नाग्मा–गमगढी–मुगुम–कार्मारोङ्–नाक्चेलाग्ना सडक, राप्ती राजमार्ग, छिञ्चु–जाजरकोट सडक, जमुनाहा–धोमोरिम्ला सडक र लुम्बिनी–रारा पर्यटकीय सडकको स्तरोन्नती गर्नुपर्नेमा जोड दिएको छ ।

त्यस्तै नेपाली भाषा र संस्कृतिको उद्गम स्थल जुम्लाको सिंजालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने, निर्माणाधिन रंगशालाको निर्माण कार्य अविलम्व पूरा गरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने र भूकम्प पीडितको पुर्नस्थापना गर्नुपर्ने लगायतका माग पनि अघि सारिएको छ ।

कर्णालीको जल, जमिन, जंगल र जडिबुटीलाई उपयोग गर्नेगरी नीति तथा कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने, कर्णाली प्रदेशमा कृषि तथा वनसम्बन्धी अध्ययन–अध्यापन, अनुसन्धान गर्ने विश्वविद्यालय स्थापना गर्नुपर्ने, पूर्वव्यावसायिक शिक्षा, नैतिक शिक्षा र स्वास्थ्य तथा सरसफाई शिक्षासम्बन्धी विषयलाई आधारभूत तहदेखि नै अनिवार्य गर्न पनि समाजवादीले कर्णाली सरकारसँग माग गरेको छ ।

गरिब, जेहेन्दार, दलित, महिला र पिछडिएका क्षेत्रबाट आएका विद्यार्थीहरूको लागि छात्रावासको व्यवस्था गर्नुपर्ने, १८ वर्षमुनि र ६० वर्ष माथिका सबै कर्णालीवासी नागरिकहरूलाई सबै प्रकारको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने, क्यान्सर, मृगौला, मुटु जस्ता प्राणघातक रोगलाई पूर्ण रूपमा निःशुल्क उपचार गर्ने व्यवस्था गर्न माग गरेको छ ।

कर्णाली प्रदेशमा रहेका कर्णाली, तिला, भेरी, शारदालगायतका नदीहरूबाट ऊर्जा उत्पादनको महत्त्वलाई आत्मासात गरी स्थानीय जनताहरूको हक, लाभ र स्वामित्वलाई ग्रहण गर्दै सम्भाव्यता अध्ययन भएका तिला कर्णाली, फुकोट कर्णाली, जगदुल्लाा, बेतन कर्णाली, नलसिंगाड, अपर कर्णाली, भेरी बबई डाइभर्सन, शारदा लगायतका जलविद्युत परियोजनाहरूको कामलाई छिटोछरितो सम्पन्न गर्ने वातावरण बनाउन पनि समाजवादीले माग गरेको छ ।

प्रकाशित मितिः   २० बैशाख २०८२, शनिबार १०:२४