सडक पूर्वाधारमा सुधार

संघीयता कार्यान्वयन भएको सात वर्ष पुगेको छ । यो बीचमा धेरै पूर्वाधार निर्माण भए । तीन तहकै सरकारको प्राथमिकतामा पूर्वाधार परेका कारण पनि विकासको पहिलो शुत्र पूर्वाधार निर्माण नै बन्यो । दश वर्ष अघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर आँसु–पसिना चुहाउँदै नुन–चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर लिने गरेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य वस्तु बजारसम्म लिनका लागिसमेत सहजै सवारी साधनको प्रयोग हुँदै आएको छ । तीन तहका सरकारको सक्रिया पहलकदमीका कारण गाउँगाउँमा सडक पुग्दा कर्णालीवासीको जीवनस्तरमा सुधार आएको छ ।

सरकारले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । कर्णाली प्रदेशमा नौ हजार ६ सय ८६ दशमलव ६२ किलोमिटर सडक बनेको छ । जुन, नेपालको कूल सडकको १२ दशमलव ४ प्रतिशत हो । कर्णालीका सडकमा ३० हजार तीन सय ६७ सवारी साधन गुड्छन् । कर्णालीमा संघीयतापछि मात्र पनि सडकमा राम्रो प्रगति भएको छ । प्रदेश सरकार गठन भएपछि दुई सय किलोमिटर सडक कालोपत्रे गरिएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म गरेर दुई सय दशमलव ११ किलोमिटर सडक कालोपत्रे गरिएको हो । आर्थिक वर्ष २०७७/२०७८ मा प्रदेश सरकारले ३३ किलोमिटर सडक कालोपत्रे गरेको थियो । आर्थिक वर्ष २०७८/२०७९ मा १५ दशमलव नौ किलोमिटर सडक कालोपत्रे भएको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७९/२०८० मा ३० दशमलव ३ किलोमिटर, २०८०/२०८१ मा सबैभन्दा बढी ९४ दशमलव आठ किलोमिटर सडक कालोपत्रे भएको सुवेदीले जानकारी दिए । चालु आर्थिक वर्षको हालसम्म २६ दशमलव ३६ किलोमिटर सडक कालोपत्रे भएको छ ।

अन्य पूर्वाधार निर्माणको तुलनामा सडक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । निर्माण भएका सडक प्रदेश सरकारले मात्र निर्माण गरेको हो । संघीय तथा स्थानीय सरकारले समेत धेरै सडक निर्माण गरेका छन् । सात वर्षको अवधिमा प्रदेश सरकारले ६ सय ५६ किलोमिटर सडक खण्डमा ग्रावेल गरेको छ । दुई आर्थिक वर्षमा भने ग्रावेलको काम भएको थिएन । आर्थिक वर्ष २०७५/७६, २०७६/२०७७ मा सडक ग्रावेलको काम नभएको हो । आर्थिक वर्ष २०७७/२०७८ मा दुई सय किलोमिटर सडक खण्ड ग्रावेल भएको थियो भने आर्थिक वर्ष २०७८/२०७९ मा एक सय १३ किलोमिटर, २०७९/२०८० मा एक सय २० किलोमिटर, २०८०/२०८१ मा एक सय ८६ किलोमिटर सडक ग्रावेल गरिएको थियो । चालु आर्थिक वर्षको हालसम्म ३६ किलोमिटर सडक ग्रावेल गरिएको छ । यसले संघीयतापछि कर्णालीमा सडक पूर्वाधारमा सुधार भएको देखाउँछ ।

प्रकाशित मितिः   १९ बैशाख २०८२, शुक्रबार ०५:०३