‘आयोजना बैंक’ निर्माण अन्तिम चरणमा
सुर्खेत: कर्णाली प्रदेश सरकारले ‘आयोजना बैंक’ निर्माण गरेर मात्र लगानी सम्मेलन गर्ने भएको छ । यसअघि आवश्यक तयारी र प्रक्रिया पूरा नहुँदा लगानी सम्मेलन हुन सकेको थिएन । बेला–बेला भइरहने सरकार फेरबदल र योजना आयोगले पूर्णता नपाउँदा लगानी सम्मेलन अन्योलमा पर्दै आएको थियो । यो पटक भने लगानी सम्मेलनका लागि केही आधार निर्माण गरेर मात्र सम्मेलनको मिति तय गर्ने सरकारले जनाएको छ ।
अहिले आयोजना बंंैक निर्माणको काम अन्तिम चरणमा पुगेको प्रदेश योजना आयोगले जनाएको छ । आयोजना बंैक निर्माणका लागि मापदण्ड र कार्यविधि निर्माण गरिएको योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले जानकारी दिए । उनका अनुसार आयोजना बंैक निर्माण गरेर मात्र लगानी सम्मेलन गरिने भएकाले आयोजना बंैक निर्माणको कामलाई प्राथमिकतामा राखिएको हो । आयोजना बैंक निर्माण गर्ने र त्यसै अनुरूप लगानी सम्मेलन गर्नेगरी तयारी भइरहेको योगीले जनाए । योगीले भने, ‘आयोजना बैंक कार्यान्वयनका लागि कार्यविधि र मापदण्ड निर्माण गरिएको छ, दश वटै जिल्लाबाट सुझाव संकलनको कामसमेत सकिएको छ, अन्य काम आयोगले प्राथमिकतामा राखेर गरिरहेको छ ।’ दोस्रो पञ्चवर्षीय योजना निर्माण गरेर आयोजना बैंक निर्माण योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको योगीले जानकारी दिए ।
लगानी सम्मेलनबारे यसअघि भएका काम र आयोजनाहरूको सुनिश्चित गरेर मात्र सम्मेलन गर्ने तयारी भएको योगीले बताए । यसअघिको योजना आयोगले समेत केही तयारी गरेको थियो । सोही बमोजिम काम अघि बढाउन लागिएको हो । तयारी पूरा गरेर मात्र सम्मेलनको मिति तय गर्नेगरी योजना आयोग लागिरहेको उनको भनाइ छ । यसअघि भएका अभ्यास हेर्दा तयारी नहुँदा काम हुन सकेको थिएन । सम्मेलनका केही आधार तय गरेर मात्र काम अघि बढाउन लागिएको उपाध्यक्ष योगीले बताए । विषयगत मन्त्रालयसँग आवश्यक तथ्यांक माग्ने, छलफल गर्ने र मन्त्रालयहरूका प्राथमिकताका आयोजनाहरू समावेश गर्ने काम भइरहेको छ ।
आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमार्फत् सार्वजनिक गर्न, बजेट तर्जुमा गर्दा प्राप्त सिलिङभित्र प्राथमिकताका आधारमा बजेट प्रस्ताव गरिने छ । प्रदेश योजना आयोगले छनोट गरी निर्धारण गरेको प्राथमिकता क्रमका योजनाहरूबाट प्रदेश गौरवको योजनाहरू, ठूला र बृहत् प्रकृतिका योजनाहरू बजेट दिएर कार्यान्वयनमा जाने जनाइएको छ ।
विशेष गरी भौतिक पूर्वाधारतर्फका योजनाहरू आयोजना बैंकबाट छनोट गरी कार्यान्वयन गरिने प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकार स्थापनादेखि नै कर्णाली सरकारले आयोजना बैंक निर्माणको चर्चा सुरु गरेको थियो । सरकारले विगतदेखि नै नीति तथा कार्यक्रममै समावेश गरी आयोजना बैंक निर्माणको विषय अघि सार्दै आएको थियो । तर, कार्यान्वयन भने हुन सकेको थिएन ।
प्रदेश सरकारले पुँजीगत खर्च बढाउन समेत आयोजना बैंकको परिकल्पना गरेको छ । प्रदेश सरकारको विकास बजेट कार्यान्वयनको अवस्था दयनीय छ । योजनावद्ध रूपमा बजेट कार्यान्वयन गर्ने नीति अबलम्वन गरिएको मुख्यमन्त्री यामलाल कँडेल बताउँछन् । सरकारले भइरहेका विकास निर्माणको अध्ययन अनुगमन गर्ने र अब सञ्चालन गरिने आयोजनासमेत प्रभावकारी कार्यान्वयनका लागि योजना निर्माण थालिएको उनको भनाइ छ । ‘आयोजना बैंक’ निर्माण गरेर प्राथमिकताका आयोजना मात्र सञ्चालन गरिने उनको जनाए ।
हुन नसकेको लगानी सम्मेलन
यसअघि प्रदेश सरकारले विभिन्न समयमा लगाानी सम्मेलन गर्नेगरी तयारी थालेको थियो । तर सरकारको योजना कार्यान्वयन भएको थिएन । अन्तिम पटक निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले गत वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने योजना बनाएको थियो । वैशाख १९ र २० गते प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्मेलन गर्नेगरी तयारी थालिएको थियो । सम्मेलनको तयारीका लागि मुख्यमन्त्रीको नेतृत्वमा निर्देशक समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको थियो । आर्थिक, सामाजिक र सुशासन समितिसमेत गठन गरेर काम अघि बढाइएको थियो ।
प्रदेश योजना आयोगले वैशाख १९ र २० गते लगानी सम्मेलन गर्नेगरी प्रदेश सरकारलाई कार्ययोजना प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृतसमेत गरेको थियो । २०८० माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १९ र २० गते कर्णाली प्रदेश लगानी तथा विकास सम्मेलन गर्ने निर्णय गरेको थियो । दुई पटक लगानी सम्मेलनको योजना विफल बनेको थियो । त्यतिबेला धेरै कामसमेत अघि बढिसकेको अवस्थामा सरकार फेरबदलले गर्दा सम्मेलन अन्योल बनेको थियो । यो पटक भने सरकारले लहडमा भन्दा पनि तयारी पूरा गरेर मात्र लगानी सम्मेलन गर्ने तयारी गरेको छ । हचुवाको भरमा सम्मेलनको मिति तय गर्दा दुविधा उत्पन्न भएको भन्दै तयारी पूरा गरेर मात्र मिति तय गर्न लागिएको हो ।
प्रकाशित मितिः १९ बैशाख २०८२, शुक्रबार ०५:०५
रजनी याेगी ।