राउटे समुदायको संरक्षण
जंगलमा फिरेन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । ४९ वर्षीय शाहीको गएराती बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक मदिरा सेवनका कारण मुखिया शाहीको मृत्यु भएको बताइएको छ । नयाँ वर्षमा यो समुदायमा ठूलो चाड मनाउने प्रचलन हुन्छ । त्यही बेलादेखि उनी बिरामी थिए । राउटे समुदाय बिरामी भएपछि उपचारका लागि अस्पताल जान मान्दैनन् । उनी पनि अस्पताल जान मानेनन् । अन्ततः उनको मृत्यु भएको छ । शाहीको मृत्युसँगै राउटे समुदायको जनसंख्या घटेको छ । पछिल्लो समय राउटे समुदायको जनसंख्या निरन्तर घट्दै गएको छ ।
तीन जना मुखिया रहेको राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण हुन् । २०७२ जेठमा मुखिया चुनिएका उनी रास्कोटी गोत्रका हुन् । एक महिनाअघि मात्रै उनीहरू वीरेन्द्रनगर–१४ छेडामा भेट्नेगरी गिरीघाटबाट छुट्टिएको थिए । २० घरधुरी वीरेन्द्रनगर–१३ करेखोला किनारामा बसिरहेका छन् । मुखिया शाहीको नेतृत्वमा बाँकी २० घरधुरी बराहतालको सोतखोला किनारा हुँदै श्रीचौर नजिकै पुगेको हो । राउटे समुदायको चलनअनुसार तीन वर्षको फरकमा छुट्टाछुट्टै बाँडिने गरेका छन् । राउटे समुदाय दुई राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याय गरी तीन गोत्र छन् । मुखियाको मृत्यु भएपछि यो समुदायको संख्या घटेर एक सय ३५ मा झरेको छ । राउटे जातीको रहनसहनका कारण पनि स्वास्थ्य समस्या देखिने गरेको छ । पोषीलो खानेकुरा न्यून खानु, बाँसस्थानसमेत जंगल आसपास हुँदा स्वास्थ्यमा धेरै समस्या आउने गरेको हो । अहिले पनि अस्पतालमा उपचार गर्दा मृत्यु हुने विश्वास समुदायमा छ । पछिल्लो घटनाहरूमा ढिलागरी उपचार गर्दा सबैको मृत्यु नै भएको पाइएको छ । उपचारकै क्रममा लिइएका सात जनाको मृत्यु भएको छ । मानवीय त्रृटिका कारण राउटे समुदाय मासिँदै गएको छ । फिरेन्ते जीवन बिताउने यो समुदायमा रोगको उपचार नहुँदा मृत्युवरण गर्न बाध्य बनेको छ । उनीहरूले आफू भन्दा बाहिराका मानिसको कुरा विश्वास गर्दैनन् ।
राउटेको अस्तित्व संकटमा पर्दै गएपनि प्रदेश सरकारले राउटे जातीको संरक्षणमा चासो दिएको छैन । प्रत्येक वर्षको नीति तथा कार्यक्रममा समेटिने यो जातीका लागि ठोस नीति बन्न नसकेको हो । प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन एकीकृत नीति ल्याउने भनेको तीन वर्ष बित्यो । तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले २०७८ असार ७ गते सरोकारवाला र विज्ञहरूसँग छलफल गरी तत्कालै राउटे संरक्षणका लागि नीति बनाइने बताएका थिए । त्यसका लागि मन्त्रालयले सरोकारवाला पक्षका सुझाव पनि लियो । तर, अहिलेसम्म उक्त नीति निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।
प्रकाशित मितिः १८ बैशाख २०८२, बिहीबार ०५:०३
सम्पादकीय ।