ढल्यो राउटे समुदायको खम्बा

अस्तित्व संकट बढ्दै, बनेन राउटे संरक्षण नीति

 

सुर्खेत: जंगलमा फिरेन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । ४९ वर्षीय शाहीको गएराती बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका स्वास्थ्यकर्मी विनोद विसीले जानकारी दिए । ‘नयाँ वर्षमा यो समुदायमा ठूलो चाड मनाउने प्रचलन हुन्छ । त्यही बेलादेखि उहाँ बिरामी हुनुहुन्थ्यो,’ विसीले भने, ‘पछिल्लो पाँच दिनयता बिरामले च्यापेपछि सुतिरहने तर नउठ्ने गरेपछि अस्पताल लैजान सम्झाउने गरेका थियौँ । तर उहाँको गएराती नै मृत्यु भयो ।’

राउटे समुदाय बिरामी भएपछि उपचारका लागि अस्पताल जान मान्दैनन् । ‘मुखियाले अस्पताल गएका सबैको मृत्यु भएको छ म पनि जाँदैन भन्नुहुन्थ्यो,’ विसी भन्छन्, ‘सोमवारसम्म अवस्था हेरौँ नभए मंगलवार उपचारका लागि वीरेन्द्रनगर जाउला भन्नुभएको थियो । गएराती ९ बजेतिर उहाँको मृत्यु भइसक्यो ।’

तीन जना मुखिया रहेको राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण हुन् । २०७२ जेठमा मुखिया चुनिएका उनी रास्कोटी गोत्रका हुन् । एक महिनाअघि मात्रै उनीहरू वीरेन्द्रनगर–१४ छेडामा भेट्नेगरी गिरीघाटबाट छुट्टिएको थिए । २० घरधुरी वीरेन्द्रनगर–१३ करेखोला किनारामा बसिरहेका छन् । मुखिया शाहीको नेतृत्वमा बाँकी २० घरधुरी बराहतालको सोतखोला किनारा हुँदै श्रीचौर नजिकै पुगेको हो । राउटे समुदायको चलनअनुसार तीन वर्षको फरकमा छुट्टाछुट्टै बाँडिने गरेका छन् ।

राउटे समुदाय दुई राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याय गरी तीन गोत्र छन् । मुखियाको मृत्यु भएपछि यो समुदायको संख्या घटेर एक सय ३५ मा झरेको छ । राउटे जातिको रहनसहनका कारण पनि स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्यकर्मी विसीले बताए । पोसिलो खानेकुरा न्यून खानु, बाँसस्थानसमेत जंगल आसपास हुँदा स्वास्थ्यमा धेरै समस्या आउने गरेको उनले बताए ।

अहिले पनि अस्पतालमा उपचार गर्दा मृत्यु हुने विश्वास समुदायमा छ । पछिल्लो घटनाहरूमा ढिलागरी उपचार गर्दा सबैको मृत्यु नै भएको पाइएको छ । उपचारकै क्रममा लिइएका सात जनाको मृत्यु भएको छ । मुखिया सूर्यनारायण शाहीको मृत्यु भएपछि नयाँ मुखिया चुन्नुपर्ने हुन्छ ।

मानवीय त्रृटिका कारण राउटे समुदाय मासिँदै गएको छ । फिरेन्ते जीवन बिताउने यो समुदायमा रोगको उपचार नहुँदा मृत्युवरण गर्न बाध्य बनेको छ । उनीहरूले आफू भन्दा बाहिराका मानिसको कुरा विश्वास गर्दैनन् ।

 

अझै बनेन राउटे संरक्षण नीति

प्रदेश सरकारले राउटे जातीको संरक्षणमा चासो दिएको छैन । प्रत्येक वर्षको नीति तथा कार्यक्रममा समेटिने यो जातिका लागि ठोस नीति बन्न नसकेको हो । प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन एकीकृत नीति ल्याउने भनेको तीन वर्ष बित्यो । तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले २०७८ असार ७ गते सरोकारवाला र विज्ञहरूसँग छलफल गरी तत्कालै राउटे संरक्षणका लागि नीति बनाइने बताएका थिए । त्यसका लागि मन्त्रालयले सरोकारवाला पक्षका सुझाव पनि लियो । तर, अहिलेसम्म उक्त नीति निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।

राउटेहरूमाथि गैरराउटे समुदायबाट असुरक्षा बढेका खबरहरू सार्वजनिक भएपछि उनीहरूको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति बनाइने सरकारले जनाएको थियो । नीतिको मस्यादौसमेत बनिसकेको अवस्थामा अन्य प्रक्रिया भने अघि बढेका छैनन् । तीन वर्ष पहिले निर्माण भएको राउटे संरक्षण नीतिको मस्यौदा मन्त्रालयमै थन्किएको मन्त्रालयकी महिला विकास अधिकृत सुनिता पौडेलले बताइन् । मस्यौदामाथि विभिन्न समयमा छलफल भइरहेपनि अहिलेसम्म नीति बन्न सकेको छैन । राउटेलाई स्थायी बसोबास गराउने, नागरिकताको प्रमाण–पत्र प्रदान गर्ने, उनीहरूको भाषालाई लिपिबद्ध गर्दैै संस्कृति संरक्षण गर्नेलगायतका विषय नीतिको मस्यौदामा समेटिएका छन् ।

फिरन्ते जीवन बिताइरहेका राउटेलाई स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्ने योजनासहितको नीतिको मस्यौदा अन्तिम रूप नदिएर तीन वर्षदेखि मस्यौदा थन्क्याइएको छ । राउटे संरक्षण नीति निर्माण गर्न प्रदेश सरकार नै सकारात्मक देखिएको पाइदैन । लोपउन्मूख जातिको संरक्षणका लागि कुनै नीति निर्माण हुन सकेको छैन । राउटेहरू कुलतमा लाग्दा समुदाय नै मासिने चरणमा पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । राउटेको बानी व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारी बताउँछन् ।

 

प्रकाशित मितिः   १७ बैशाख २०८२, बुधबार ०५:०६