आगलागीबाट वन जोगाऊ

पछिल्लो समय कर्णाली प्रदेशमा आगलागीबाट ठूलो मानवीय क्षति हुने गरेको छ । घरमा आगलागी हुँदा मानवीय क्षति हुने गरेको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार आगलागीका घटनाबाट मानवीय क्षति बढ्दो क्रममा रहेको पाइएको छ । चालु आर्थिक वर्षको हालसम्ममा प्रदेशभर एक सय २२ आगलागीका घटना भएका छन् । आगलागीबाट पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा एक सय ३१ आगलागीका घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७९÷०८० मा एक सय १४ वटा आगलागीका घटना भएका थिए । उक्त वर्ष आठ जनाको मृत्यु भएको थियो भने २२ जना घाएते भएका थिए । आर्थिक वर्ष २०८०÷०८१ मा सबैभन्दा बढी तीन सय ४२ वटा आगलागीका घटना भएका थिए । जसमा १८ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए ।

गर्मीयाममा आगलागीका घटना बढी नै हुने गर्दछन् । यो समयमा अधिकांश जंगलमा डढेलो लाग्ने गरेको छ । जंगलमा डढेलो लाग्दा नजिकैको बस्ती नै जोखिममा पर्ने गरेको छ । जसले पशुचौपाय र मानवीय क्षति समेत हुने गरेको हो । पछिल्लो समय सामुदायिक वनमा आगलागी हुँदा वन्यजन्तु आहारा र बासस्थानको खोजीको लागि बस्ती छिरेका छन् । त्यसैले स्थानीयलाई बालिनाली जोगाउन हम्मेहम्मे परेको छ । चैत नलाग्दै सुरू भएको डढेलो अहिले पनि लागिरहेकै छ । स्थानीयबासीले आगोबाट बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन् । त्यसैले अहिले नजिकैको वन उजाड भएका छन् । एकातिर आगोबाट बस्ती जोगाउनुपर्ने छ भने अर्कोतिर आगलागीकै कारण बस्ती छिर्न थालेका वन्यजन्तुबाट अन्नबाली जोगाउनुपर्ने भएको छ । जसले गर्दा कृषकहरू हैरान भएका छन् । आगलागीपछि ज्यान जोगाउन खेतखलियान प्रवेश गरेका वन्यजन्तु र किसानका लागि भने हैरानीका कारण बनेका छन् । डढेलो लागेपछि वनक्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जंगली बँदेल र अन्य वन्यजन्तु आहाराको खोजीमा बस्ती पसेका हुन् ।

जंगलमा डढेलोपछि अहिले जनावर बाक्लै मात्रामा गाउँतिर पस्ने गरेका छन् । जंगल डढेलोले उजाड भएपछि कतिपय जंगली वन्यजन्तु गाउँघरका झाँडीतिर लुकेर बसेको अवस्थामा भेटिने गरेका हुन् । निरन्तर लागेको डढेलोले वन्यजन्तुले जंगलमा आफूलाई असुरक्षित ठानी गाउँ पस्दा बस्तीमा त्रास फैलिएको हो । त्यसैले वनजंगलमा हुने आगलागी नियन्त्रण गर्नेतर्फ ध्यान दिनुपर्ने देखिएको छ । जसले वनको संरक्षण हुनुका साथसाथै वन्यजन्तुबाट हुने बालीनालीको क्षति पनि न्यूनीकरण गर्न सकिनेछ ।

प्रकाशित मितिः   ९ बैशाख २०८२, मंगलवार ०६:०३