कुपोषणको सिकार हुँदै बालबालिका

 

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ स्थित पार्वती थापाकी २२ महिनाका छोराको तौल अहिले आठ किलोग्राम पुगेको छ । पोषण पुनःस्थापना गृहमा एक महिना उपचार र स्याहारपछि यो तौल पुगेको हो । यहाँ आउनुअघिसम्म ती बालकको तौल ६ किलो थियो । जबकी एक वर्षअघि बालकको तौल साढे सात किलो थियो ।

विभिन्न अस्पतालहरूमा देखाउँदा बालकमा कडा खालको कुपोषण भएकोले बचाउन नसकिने भन्दै पुनःस्थापना गृहमा पठाएको थियो । एक महिनाअघि बेहोस अवस्थामा पोषण स्थापना गृहमा बालक बाच्ने आशा थोरै थियो । नियमित उपचार र उपचारात्मक खानाले उनको अवस्था सुधार हुँदै गएको छ । अहिले क्रमिक रूपमा सुधार भइरहेको पार्वती थापाले बताइन् । अहिले घरमा पनि पोषणयुक्त खानेकुरामा जोड दिएको उनको भनाइ छ ।

यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं. २ की अमृताकुमारी रिजालकी २३ महिनाका छोराको तौल अहिले पनि आठ किलो मात्रै छ । उत्तरगंगा चौकीमा जाँच गर्दा कडा खालको कुपोषण देखिएको छ । उपचारपछि आठ किलो बढेको हो । बालकले अहिले पनि राम्ररी खुट्टा टेक्न सक्दैनन् । ‘घरमा कामकै चटारो बच्चाको रेखदेख गर्नै नपाइने,’ रिजालले भनिन्, ‘बच्चालाई खाना खुवाउनै नसकिने, अवस्था झन्झन् बिग्रिँदै गएपछि स्वास्थ्यकर्मीको निगरानीमा पोषणयुक्त खानेकुरा खुवाउने गरेको छु’ अवस्था भने उस्तै छ ।

कर्णालीका बालबालिका कुपोषणको सिकार बनेका छन् । पछिल्ला केही वर्षयताको सरकारी तथ्याङ्क हेर्दा कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो देखिएको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार ठूलो संख्यामा बालबालिका कुपोषण पीडित रहेको पाइएको हो । सर्वेक्षणअनुसार प्रदेशमा पाँच वर्षमूनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या देखिएको छ । नेपालभर २५ प्रतिशत बालबालिकामा उक्त समस्या देखिएकोमा कर्णाली अन्य प्रदेशकै तुलनामा समेत अग्रपंक्तिमा देखिएको हो ।

त्यस्तै नेपालभर आठ प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको छ भने कर्णालीमा चार प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको छ । उक्त तथ्याङ्कअनुसार १५ देखि ४९ वर्षका १५ प्रतिशत महिलाहरूमा ख्याउटेपनाको समस्या देखिएको छ । प्रजनन् उमेरका महिलाहरूमा शरिरको उचाई अनुसारको तौल कम भएको पाइएको हो ।

बालबालिकामा नेपालभर १९ प्रतिशतमा कम तौलको समस्या देखिएको छ जबकी कर्णाली प्रदेशमा २७ प्रतिशत बालबालिकामा कम तौलको समस्या देखिएको हो । प्रदेशमा ४० प्रतिशत ६ महिनादेखि ५९ महिनाका बालबालिका रक्तअल्पताबाट पीडित भएको तथ्यांके देखाएको छ । यसैगरी १५ देखि ४९ वर्षका २१.२ प्रतिशत महिलाहरू रक्तअल्पताबाट पीडित भएका छन् । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१९ का अनुसार कर्णाली प्रदेशमा नवजात शिशुमृत्युदर ११ प्रतिशत रहेको थियो । सो तथ्याङ्कअनुसार शिशु मृत्युदर २७ प्रतिशत र पाँच वर्ष मूनिका बालमृत्युदर ३० प्रतिशत रहेको थियो । पछिल्लो समय यो तथ्याङ्क बढेको छ ।

 

पोषण सुधारमा न्यून लगानी

बालबालिका पोषिलो खाना नपाएर कुपोषणबाट ग्रसित भइरहेका छन् । तर सरकारले यससम्बन्धी गरेका कार्यक्रमसमेत प्रभावकारी बन्न सकेको छैनन् । पोषण सुधारका लागि सरकारको लगानीसमेत न्यून छ । स्थानीय सरकारले पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको पाइदैन । २०७१ देखि संघीय सरकारले पोषणमा सुधार ल्याउन कर्णालीमा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरेको छ । उक्त कार्यक्रममा प्रदेश र स्थानीय तहले १५ प्रतिशत बजेट छुुट्याउनु पर्ने नीतिगत व्यवस्था गरिएको छ ।

पहिलो पटक उक्त कार्यक्रम आर्थिक वर्ष २०७१/०७२ मा कर्णालीका दुई जिल्ला जुम्ला र कालीकोटमा लागू भएको थियो । सोही कार्यक्रम दोस्रो पटक कर्णालीका ६ जिल्लामा लागू गरियो । आर्थिक वर्ष २०७३/०७४ मा दैलेख, जाजरकोट, रूकुम, डोल्पा, मुगु र हुम्लाका ४३ वटा स्थानीय तहमा लागू भएको थियो । उक्त कार्यक्रम आर्थिक वर्ष २०७८/०७९ देखि प्रदेशका दश वटै जिल्लाका ७९ वटै स्थानीय तहमा कार्यान्वयन भइरहेको छ । स्थानीय तहहरूले पोषणका क्षेत्रमा लगानी गर्न सकिरहेका छैनन् । स्थानीय तहहरूले एक/दुई प्रतिशत मात्र बजेट पोषण कार्यक्रममा छुट्याउने गरेका छन् ।

प्रकाशित मितिः   ७ बैशाख २०८२, आईतवार १०:४७