विपदले क्षति

कमजोर भूवनोटका कारण कर्णाली विपद्को उच्च जोखिममा छ । वर्षामा बाढी र पहिरोबाट ठूलो क्षति हुन्छ । हिउँदमा आगलागी र हावाहुरीबाट धनजनको नाश भइरहेको छ । जहिल्यै प्राकृतिक विपद्को चपेटामा पर्छ, कर्णाली । राजधानीबाट टाढाको भौगोलिक दूरीमा रहेको कर्णालीको विपद् न्यूनीकरण गर्न न राज्यले प्राथमिकता दिन्छ । न त पीडितले नै समयमै राहत पाउँछन् । पछिल्लो समय बनेका संरचनाका कारण पनि ठूलो क्षति हुनेगरेको छ । सडक पूर्वाधारका कारण बस्ती नै जोखिममा पर्ने गरेका छन् ।

यो वर्ष कर्णालीमा तीन सय ७४ वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनामा १३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । ५८ जना घाइते भएका छन् । एक सय ६९ परिवारका नौ सय १४ जना विस्थापित भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विस्थापितपछि एक सय ५४ घरधुरीका आठ सय ३८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण पनि गरिएको छ । विपद्का कारण दुई सय ५६ पशुचौपाया मरेका छन् भने ५३ घाइते र ७५ चौपाया बेपत्ता रहेका छन् । यसैगरी प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा पछिल्ला चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा चार सय १६ विपद्का घटना भएकोमा ८५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार दुई सय १६ विपद्का घटना भए । उक्त वर्षमा ६८ जनाले ज्यान गुमाए । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा दुई हजार दुई सय १४ विपद्का घटना भएका थिए । जसमा ७२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा सात सय ३३ विपद्का घटना भएकोमा एक सय ९४ जनाको मृत्यु भएको छ । पछिल्लो समय विपद्का घटना कम भएपनि मानवीय क्षति बढी हुनेगरेको छ । उक्त आर्थिक वर्षलाई कर्णालीमा विपद्को वर्षका रूपमा हेरिएको छ ।

विपद्का घटनामा पनि पहिरोको क्षति धेरै छ । आर्थिक वर्ष २०७७/०७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १७ तथा आर्थिक वर्ष २०७९/०८० मा ४० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको पहिरोमा परी ज्यान गएको छ । यसो त कर्णाली भूकम्पबाट पनि उत्तिकै जोखिममा छ । यसरी कर्णाली प्रदेशले प्राकृतिक विपदबाट बर्सेनि क्षति बेहोर्नुपरिरहेको छ ।

प्रकाशित मितिः   ७ बैशाख २०८२, आईतवार ०६:०३