सुर्खेतमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा
आइतवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत मतगणना जारी छ । सोमवारदेखि सुर्खेतमा जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार सुर्खेतमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । जिल्लाका नौ वटा तहमध्ये कांग्रेस चार वटा तहमा अगाडि छ । यस्तै एमालेले पाँच स्थानमा अग्रता लिएको छ ।
मंगलवार बिहानसम्मको परिणाम अनुसार नेपाली कांग्रेस भेरीगंगा, गुर्भाकोट नगरपालिका र बराहताल तथा चिङ्गाड गाउँपालिकाको प्रमुख पदमा अगाडि छ । यस्तै एमाले वीरेन्द्रनगर, पञ्चपुरी र लेकवेशी नगरपालिका तथा सिम्ता र चौकुने गाउँपालिकामा अगाडि देखिएको
छ । यस्तै जिल्लाका १३ वडामा नेतृत्व टुङ्गो लागेको छ । जसमा कांग्रेसले ६ र एमालेले ५ वटा वडा जितेका छन् भने माओवादी केन्द्रले दुई वटा वडामा जीत हात पारेको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । मतगणनाका क्रममा कांग्रेस र एमालेले पालैपालो उछिन्ने गरेका
छन् ।
मतगणना एकदमै सुस्त गतिमा भइरहेको छ । एउटा वडाको मत गणना हुन कम्तीमा १२ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । यही गतिमा मत गणना भए अन्तिम परिणाम आउन अझ केही लाग्ने आँकलन गरिएको छ । मतगणना सम्बन्धित गाउँपालिका र नगरपालिकाको केन्द्रमा भइरहेको छ ।
साझा बिसौनी ।