सुर्खेतमा एमालेको अग्रता

सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकासहित नेकपा एमालेले अग्रता लिएको छ । प्रदेश नम्बर ६ को सबैभन्दा ठूलो वीरेन्द्रनगरसहति पाँच तहमा एमाले अगाडि रहेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्वर १ वाट मतगणना सुरु भएको छ । नगरमा एक सय मत गणना हुँदा एमाले अगाडि देखिएको हो ।
वीरेन्द्रनगरमा एमालेको तर्फबाट मेयरका उम्मेदवार बालाराम शर्माले ४८ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका देवकुमार सुवेदीले ४० मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रका रत्नबहादुर गाहाले भने ४ मत प्राप्त गर्नुभएको छ । वीरेन्द्रनगरस्थित मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको भवनमा मतगणना जारी छ । ५० हजार मतदाता रहेको वीरेन्द्रनगरमा १६ वटा वडा रहेका छन् ।

राती अवेर मात्र मत पेटिका संकलन भएको र दलहरुबीचको सहमति जुट्न समय लागेकाले सोमवार दिउँसोबाट मात्र मत गणना सुरु भएको हो । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चा भएको यो नगरमा सबै दलहरुले चासो दिएका छन् । दलहरुले यहाँको नेतृत्व हात पार्नका लागि अन्तिम कसरत गरेका थिए । सुर्खेतका पाँच नगरपालिका र चार गाउँपालिकामा मतगणना जारी छ । हालसम्मको परिणाम अनुसार एमालेले पाँच तहमा अग्रता लिएको छ ।

लेकवेशी नगरपालिकामा एमालेका गगनसिं सुनार (१०७९), गुर्भाकोट नगरपालिकामा एमालेकै देवबहादुर खत्री (७३२), पञ्चपुरी नगरपालिकामा एमालेका मनबहादुर विक (२३९), र चौकुने गाउँपालिकामा पनि एमालेका धीरबहादुर शाही (२३७) मतका साथ अगाडि हुनुहुन्छ । यस्तै नेपाली कांग्रेसले दुई स्थानमा अग्रता कायम गरेको छ । बराहताल गाउँपालिकामा कांगे्रसका तेजबहादुर बस्नेत (३५९) र चिङगाड गाउँपालिकामा कांगे्रसकै देवबहादुर चन्दले (३१२) मत प्राप्त गर्दै अग्रता लिएका छन् । माओवादी केन्द्रले भने भेरीगंगा नगरपालिकामा अग्रता लिएको छ । माओवादीका कृष्णप्रसाद गिरीले (३६२) मत प्राप्त गरेर अग्रता लिएका छन् ।

सिम्ता गाउँपालिकामा भने पाँच बजेबाट मतगणना सुरु भएको छ । यसैबीच एमालेले गुर्भाकोट र लेकवेशीमा एकएक वटा वडामा जितेको छ भने माओवादीले भेरीगंगाको एउटा वडामा जीत हात पारेको छ ।

प्रकाशित मितिः   १ जेष्ठ २०७४, सोमबार १७:३९