स्वास्थ्य सेवा दिएर जनसेवाको स्थापना दिवस

सुर्खेत: जनसेवा माध्यमिक विद्यालय घुस्राले स्वास्थ्य शिविर गरेर आफ्नो स्थापना दिवस मनाएको छ । ४२औँ स्थापना दिवसको अवसरमा शनिवार विद्यालय प्रांगणमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

स्वास्थ्य शिविरमार्फत् विद्यालय सेवा क्षेत्रभित्रका अभिभावक र विद्यार्थीसहित करिब एक हजार जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक कृष्णबहादुर थापाले जानकारी दिए । विद्यालयले वीरेन्द्रनगर नगर स्वास्थ्य शाखासँगको समन्वय र सहयोगमा नसर्ने रोगहरूको परीक्षण शिविर सञ्चालन गरेको थियो । जसमा सुगर, प्रेसर, मानसिक स्वास्थ्य, दाँच परीक्षणसहित औषधि वितरणसमेत गरिएको छ । स्वास्थ्य परीक्षणका साथै दुई सयभन्दा बढीलाई औषधि वितरण समेत गरिएको हो ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा लाटीकोइली र सुर्खेत आँखा अस्पतालसँगको समन्वयमा आँखा तथा कानसम्बन्धी रोग परीक्षण पनि गरिएको छ । विद्यालयका प्रधानाध्यापक भक्तबहादुर शाहीले अहिले शिक्षक आन्दोलन चलिरहेको समयमा अन्य कार्यक्रम गर्नुभन्दा स्वास्थ्य शिविर राखेर स्थापना दिवस मनाइएको बताए । जसबाट विद्यार्थीका साथसाथै अभिभावकहरूले पनि लाभ लिएको उनको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर बुढाको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, वीरेन्द्रनगर–१० का वडाअध्यक्ष दिलबहादुर रखाललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ३१ चैत्र २०८१, आईतवार १२:०२