आयोजनामा विलम्ब

विवाद समाधान हुन नसक्दा कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तारमा विलम्ब भइरहेको छ । बाँकेको बैजनाथ र वीरेन्द्रनगरको सुब्बाकुनामा जग्गा विवाद हुँदा आयोजना निर्माण कार्य नै अवरुद्ध हुन पुगेको हो । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले यही अवरोध हटाएर आयोजना अघि बढाउन चासो राखेका छन् । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई फोन गरेर मुख्यमन्त्री कँडेलले विवाद समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख रवि चौधरीसँग आयोजनाबारे जानकारी लिएपछि मुख्यमन्त्री कँडेलले निर्देशक शाक्यलाई टेलिफोन सम्पर्क गरेका थिए ।

विवादित क्षेत्रमा बाहेक अन्य क्षेत्रमा टावर राख्ने काम भने भइरहेको छ । निकुञ्जलगायतका अन्य स्थानहरूमा टावर राख्ने काम जेठ महिनामै सम्पन्न हुने जनाइएको छ । तर, बाँकेको गाभर र सुर्खेतको सुब्बाकुनामा गरी पाँच वटा टावरको काम जग्गा विवादका कारण हुन सकेको छैन । बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ । तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । उनीहरूले कुनैपनि हालतमा बस्तीबाट विद्युत विस्तार गर्न नहुँने बताइरहेका छन् । विभिन्न समयमा स्थानीयसँग छलफल गरिएता पनि सकारात्मक निश्कर्ष आउन नसकेको आयोजनाले जनाएको छ । सोही विवादकै कारण आयोजनाको काम अघि बढाउन समस्या भएको छ । विवाद समाधानका लागि केही समयअघि दुई प्रदेशका सरकार प्रमुख, प्रदेश तथा संघीय सांसदसमेत त्यस क्षेत्रमा पुगेको थिए । तर नागरिक आफ्नो अडानमा यथावत छन् । विवादित बाहेक अन्य स्थानको काम करिब अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । हालसम्म आयोजनाको ८० प्रतिशत प्रगति हासिल भएको छ । अझै २० प्रतिशत काम गर्न बाँकी छ । जग्गा र वनका कारण आयोजनाले तोकिएकी मितिमा कामसमेत गर्न सकेको छैन । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको हो । विवाद नै विवाद हुँदा आयोजनाले अपेक्षित रूपमा काम गर्न सकेको छैन भने विवाद पनि समाधान हुन सकेको छैन । वनको विवाद भने समाधान भएको छ । सुर्खेतको सुब्बाकुनामा सव–स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ९० प्रतिशत निर्माणको काम सकिएको छ ।

प्रकाशित मितिः   २० चैत्र २०८१, बुधबार ०६:०३