‘पत्रकारमाथि असुरक्षा बढ्यो’
सुर्खेत: पत्रकारमाथि असुरक्षा बढेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ सुर्खेतले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको छलफलका सहभागीहरूले समाचार संकलनका क्रममा ज्यान नै गुमाउनुपर्ने अवस्था बारम्बार दोहोरिएको भन्दै पत्रकारको सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिएका हुन् ।
केही दिनअघि काठमाडौंको तिनकुनेमा समाचार संकलनका लागि गएका पत्रकारको मृत्यु भएपछि समग्र पत्रकारहरूको सुरक्षा सरोकारका विषयमा छलफल गरिएको थियो । छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले प्रेसमाथि द्वन्द्वका समयमा भन्दापनि अहिले असुरक्षा बढेको बताए । पत्रकारले ज्यान जोगाएर मात्रै रिपोटिङ गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकारमाथि हुने सबैखाले घटनाविरुद्ध न्याय प्राप्तिको लडाइँमा महासंघ पछि नहट्ने प्रतिबद्धता पनि जनाए ।
पत्रकार महासंघ सुर्खेतका निवर्तमान अध्यक्ष ललित बसेलले तिनकुने घटनामा पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमणलाई सामान्यरूपमा लिन नहुने बताए । विगतदेखि नै प्रेस स्वतन्त्रतामा विभिन्न पक्षबाट आक्रमण हुँदै आएको उल्लेख गर्दै यसमा महासंघले डटेर सामना गर्नुपर्ने उनले बताए ।
आन्दोलनका नाममा भएको अराजक प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई न्याय दिलाउन कुनै कसर बाँकी नराखिने महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले बताए । रजकलाई न्याय र उनको परिवारलाई उचित क्षतिपूर्तिसहित स्वतन्त्र प्रेसमाथि भइरहेको हमाला अन्त्य नभएसम्म महासंघले संघर्ष जारी राख्ने शर्माको भनाइ थियो ।
छलफलमा नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन विसी, प्रेस चौतारी नेपाल सुर्खेतका अध्यक्ष मुना हमाल, प्रेस सेन्टर नेपाल सुर्खेतका अध्यक्ष टेकेन्द्र विश्वकर्मा, समाजवादी प्रेस संगठन सुर्खेतका अध्यक्ष देव रानालगायतले पनि मृतक पत्रकारले न्याय नपाउँदासम्म सरकारलाई रचनात्मक दबाब दिने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरी सञ्चारिका समूह कर्णाली प्रदेशका सचिव रजनी योगी, अनलाइन मिडिया नेटवर्क सुर्खेतका अध्यक्ष नवीन शाही, नेपाल आदिवासी पत्रकार महासंघका अध्यक्ष प्रवाशकुमार शाक्यलगायतले पनि रिपोर्टिङ गर्दा पत्रकार आफैले पनि संवेदनशीलता अपनाउनुपर्ने बताएका थिए ।
प्रकाशित मितिः २० चैत्र २०८१, बुधबार ०६:०१
साझा बिसौनी ।