अस्पताल स्तरोन्नति

राकम कर्णालीमा ५० शैय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दैलेखको आठबिस नगरपालिका–४ राकममा स्याटलाइनट अस्पताल सञ्चालन गर्न लागेको हो । प्रतिष्ठान सभाको ११औँ बैठकले त्यसका लागि कार्ययोजना स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार भएको बैठकले १५ शैय्याको आधारभूत अस्पताललाई स्तरोन्नति गर्ने कार्ययोजना स्वीकृत गरेको हो । गत माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले राकमको आधारभूत अस्पताललाई ५० शैय्यामा स्तरवृद्धि गरी प्रतिष्ठानले सञ्चालन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोही निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रतिष्ठानले कार्ययोजना अनुमोदन गरेको छ । कार्ययोजना स्वीकृत भएसँगै अब अस्पताल स्तरोन्नतिको काम अघि बढ्ने छ ।

संघीय सरकारले अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको छ । अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग पनि समन्व्य र प्रस्ताव गर्ने जनाइएको छ । प्रतिष्ठानले तत्कालका १५ शैय्याको अस्पतालकै सेवालाई सुधार गर्नेगरी काम सुरु गरिसकेको छ । शैय्या थपका लागि अन्य संरचना निर्माण नहुँदासम्म १५ शैय्याबाट सेवा सुरु गर्नेगरी प्रक्रिया अघि बढाइएको हो । अहिले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन लगाएका काम भइरहेको छ । प्रतिष्ठानको विकास र विस्तारसँगै कर्णालीका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ । ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गर्न लागिएको हो । पाँच वर्षअघि आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार एक सय शैय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । तर निर्माणको काम भने अघि बढ्न सकेको थिएन । सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अघि नबढेको हो । अहिले बजेटको व्यवस्थापन गरेर अस्पताल निर्माणको काम सुरु गर्न लागिएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा संघीय सरकारले अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेसँगै अस्पताल निर्माणको काम अघि बढाउन लागिएको हो । सरकारले चालु आर्थिक वर्षमा अस्पताल निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको छ । यो वर्षदेखि अस्पताल निर्माणको काम सुरु गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सरकारसँग थप बजेट माग गरेर अस्पताल निर्माणको काम सुरु गर्न लागिएको छ । केही महिना अघि मात्र नयाँ डिपीआर निर्माण गरिएको छ । डिपीआर अनुसार एक अर्ब ७२ करोड लागत अनुमान रहेको छ । संघीय सरकारको नीति तथा कार्यक्रममा समेटिएको अस्पताल निर्माणको योजना यो वर्षदेखि कार्यान्वयनमा जान लागेको हो ।

प्रकाशित मितिः   १९ चैत्र २०८१, मंगलवार ०६:०३