लोगो र मस्कट सार्वजनिक

सुर्खेत: कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले मंगलवार लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

लोगो विकास तमखुले तयार गरेका हुन् । लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश, नेपालको हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा अंकित छ । यस्तै मस्कट पनि विकासले नै डिजाइन गरेका हुन् । यसपटकको मस्कट कर्णाली प्रदेशमा पाइने दुर्लभ जनावर रेड पाण्डाको छ ।

दशौँ राष्ट्रिय खेलकुद २०८२ जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने तय गरिएको छ । दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने निर्णय गरिएको थियो ।

यसअघि मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गरिने घोषणा गरिएको थियो तर तोकिएको मितिमा खेलकुद भएन । त्यसपछि चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्ने गरी मिति सारिएको थियो । दसौँ राष्ट्रिय खेलकुदमा ३५ खेलमा चार सय १९ स्पर्धामा प्रतिस्पर्धा हुने प्रस्ताव छ ।

प्रकाशित मितिः   ६ चैत्र २०८१, बुधबार ०६:०१