दशौँ खेलकुद
कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दुई पटक सरिसकेको छ । गत मंसिरमा आयोजना गर्ने भनिएको प्रतियोगिता पहिलो पटक चैतमा सारिएको थियो भने पछिल्लो पटक आगामी वर्षको जेठसम्म धकेलिएको छ । लगातार मिति सार्दा प्रतियोगितामाथि नै अन्योलता छाएको छ । यद्यपि दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक सचिवालय सञ्चालनमा ल्याइएको छ । आइतवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालयको उद्घाटन गरिएको हो । युवा तथा खेलकुद मन्त्री तथा प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष तेजुलाल चौधरी र कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् प्रतियोगिता मूल आयोजक समितिका सहअध्यक्ष यामलाल कँडेलले वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा सचिवालयको उद्घाटन गरेका हुन् । योसँगै अब प्रतियोगिता आयोजना हुने विश्वास बढेको छ ।
सचिवालय उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जेठ ३ गतेदेखि तोकिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै बहानामा नसर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगतमा दुई पटक मिति तोकेर पनि विभिन्न प्राविधिक कारणले प्रतियोगिता हुन नसके पनि अहिले ती समस्याहरू समाधान गर्दै गएकोले जेठ ३ गतेदेखि प्रतियोगिता हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । अब भने कुनै बहाना र निहुँमा प्रतियोगिता नसर्ने बताइएको छ । पछिल्लो निर्णयअनुसार आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेछ । त्यसका लागि वीरेन्द्रनगरमा रंगशाला निर्माणसहितका अन्य पूर्वाधार तयार पारिएको छ । दश हजार दर्शक अट्ने क्षमताको रंगशाला निर्माण पूरा भएको छ । जुन फिफा मापदण्ड अनुसारको फुटबल मैदानलगायतका अन्य संरचनाहरू बनाइएको छ । रंगशालाभित्र १६ वटा खेल खेलाउन सकिनेछ । दशौँ खेलकुदको लागि २४ खेल खेलाउने तयारी छ । प्रतियोगितालाई लक्षित गरेर कालिञ्चोक क्रिकेट मैदान निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको गुरुङचोक र चिसापानीमा फूटबल मैदान निर्माण तयार पारिएको जनाइएको छ । दैलेख र रुकुमपश्चिममा कभर्डहल मर्मत गरिएको छ । हुम्लामा हकी खेलमैदान निर्माण भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भएका छन् । जुम्लामा भलिवल खेल मैदान तथा प्याराफिट निर्माण गरिएको छ । जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण गरिएपनि खेलको मिति अन्योलमा हुँदा समस्या भएको हो ।
मुलुककै सबैभन्दा ठूलो खेल प्रतियोगिता आयोजनाको तयारी चलिरहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद् भने पदाधिकारीविहीन अवस्थामा छ । गत पुस ६ गतेदेखि उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरूको कार्यकाल सकिएको हो । तर नयाँ पदाधिकारी नियुक्तिका लागि भने प्रक्रिया अघि बढेको छैन । पदाधिकारी नियुक्तिको जिम्मेवारी प्रदेश सरकारको हो । अब जतिसक्दो छिटो आवश्यक प्रक्रिाय पु¥याएर खेलकुद परिषद्लाई पूर्णता दिन जरुरी देखिन्छ ।
प्रकाशित मितिः २७ फाल्गुन २०८१, मंगलवार ०६:०३
सम्पादकीय ।